
काठमाडौं । नेपालको संसदीय निर्वाचनको इतिहासमै राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रमा क्लिनस्विप गरेको छ ।
पुराना राजनीतिक दलहरुको किल्ला भत्काएर रास्वपाले उपत्यकाका सबै सिटमा अभूतपूर्व जित हासिल गर्न सफल भएको हो । यतिसम्मकी २०४८ यता कुनै पनि दलले भत्काउन नसकेको भक्तपुर १ को नेपाल मजदूर किसान पार्टीको किल्लासमेत रास्वपाले सजिलै भत्काएको छ ।
२०६४ को पहिलो संविधानसभा निर्वाचन तत्कालीन माओवादी केन्द्रको लहर देखिँदासमेत यसरी सबै निर्वाचन क्षेत्रमाथि एकछत्र जित हासिल गर्न सकेको थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा विजय हासिल गरेर संसदीय निर्वाचनको इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ ।
यसअघि पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीको लहर चल्दासमेत सबै निर्वाचन क्षेत्रमा जित हासिल हुन सकेको थिएन । त्यसयता यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले आलोपालो चुनाव जित्दै आएका थिए । तर यसपटक रास्वपाले १५ वटै क्षेत्रमा अभूतपूर्व जित हासिल गर्न सफल भएको छ । हरेक क्षेत्रमा रास्वपा उम्मेदवारले निकै फराकिलो मतान्तरले जितेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाले नेपाली कांग्रेसको विरासत ढालिदिएको छ । २०६४ यता यहाँबाट लगातार प्रकाशमान सिंह विजयी हुँदै आएको यो क्षेत्रमा रास्वपाकी रञ्जु दर्शना न्यौपाने प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रबल थापाभन्दा दोब्बर मतले विजयी हुनुभएको छ । न्यौपानले १५ हजार ४ सय ५५ मत ल्याउँदा थापाले जम्मा ६ हजार ३ सय ६४ मत पाउनुभयो ।
कांग्रेसलाई टक्कर दिँदै आउनुभएका रविन्द्र मिश्रले पनि यस क्षेत्रमा हारमा ह्याट्रिक गर्नुभएको छ । काठमाडौं २ मा रास्वपाको जितलाई निरन्तरता दिँदै सुनिल केसी निर्वाचित हुनुभएको छ । केसीले ३४ हजार २३८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कविर शर्माले ८ हजार ८७४ मत प्राप्त गर्नुभयो ।
यसअघि यहाँबाट रास्वपाकै सोबिता गौतम निर्वाचित हुनु भएको थियो। २०६४ को संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा २०७० मा माधवकुमार नेपाल विजयी हुनुभयो भने २०७४ मा पनि एमालेले नै जित निकालेको थियो । काठमाडौं ३ मा राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित गर्नुभएको छ ।
२०६४ देखि नै एमाले-कांग्रेसको गढलाई यसपटक रास्वपाले भत्काएको हो । यसैगरी कांग्रेसको गढ मानिएको काठमाडौं ४ मा पनि रास्वपाका पुकार बम विजयी हुनुभएको छ । २०६४ मा कांग्रेसकी सुप्रभा घिमिरे र त्यसयताका सबै निर्वाचनमा कांग्रेस सभापति गगन थापाले जितेको यो क्षेत्रमा रास्वपाले निकालेको जित निकै फराकिलो छ । कांग्रेसका सचिन तिमिल्सिनाले ८ हजार ८ सय २४ मत ल्याउँदा पुकार बमले २९ हजार १ सय ४२ मत ल्याउनुभयो ।
काठमाडौं ५ मा सस्मित पोखरेल विजयी हुनुभएको छ, जहाँ कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता ईश्वर पोखरेल पराजित हुनुभयो । यहाँ विजयी पोखरेलले ३० हजार ७ सय ३७ मत पाउँदा कांग्रेसका पौडेलको ९ हजार १५९ र एमालेका पोखरेलको ४ हजार ७०१ मात्र आएको छ । २०७९ मा पनि एमालेका पोखरेललाई हराउँदै पौडेल विजयी हुनुभएको थियो ।
काठमाडौं ६ मा शिशिर खनालले पनि दोस्रो पटक जितलाई निरन्तरता दिनुभएको छ । यस क्षेत्रमा ६४ मा माओवादीले जितेको थियो भने ७० र ७४ मा कांग्रेसकै पकडमा थियो । काठमाडौं ७ मा पनि गणेश पराजुली लगातार दोस्रो पटक निर्वाचित हुनुभएको छ । २०६४ मा तत्कालीन माओवादीले जितेको यस क्षेत्रमा ७० र ७४ मा एमालेले जितेको थियो ।
काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ लगातार दोस्रो पटक विजयी हुनुभएको छ । कांग्रेस नेता नविन्द्रराज जोशीले लगातार २ पटक जितेको यो क्षेत्रमा २०७४ मा एमालेले जितेको थियो । २०६४ यता कांग्रेस र एमालेले आलोपालो जित्दै आएको काठमाडौं ९ पनि यसपटक रास्वपाले खोसेको छ । यहाँ डोलप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । यहाँ २०६४ र ७० मा कांग्रेस र ७४ र ७९ मा एमालेले जितेका थिए ।
काठमाडौं १० मा प्रदीप विष्ट विजयी हुनुभएको छ। २०६४ मा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएको यो क्षेत्रमा त्यसपछिका ३ वटा निर्वाचनमा काँग्रेसका राजेन्द्र केसीले ह्याट्रिक गर्नुभएको थियो । तर यसपटक केसी बाहिरिँदा रास्वपालाई फाइदा भएको छ ।
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला भत्किएको छ । यसपटक प्रेम सुवाललाई हराउँदै भक्तपुर-१ बाट रास्वपाका रुकेश रञ्जित विजयी हुनुभयो । रञ्जितले कुल ३३ हजार ४ सय ३६ मत ल्याउँदा प्रेम सुवाल २८ हजार १ सय ४७ मतसहित दोस्रो हुनुभयो ।
भक्तपुर २ बाट रास्वपाका राजिव खत्री ४२ हजार ३ सय ३४ सहित विजयी हुँदा निकटतम प्रतिद्वन्दी एमालेका महेश बस्नेतले १० हजार ९ सय ९६ मत ल्याउनुभयो । ललितपुरको पनि ३ वटै क्षेत्रमा रास्वपाले क्लिनस्विप गरेको छ । ललितपुर १ मा बुद्धरत्न महर्जनले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उदयशम्शेर राणालाई ९ हजार ८५३ मतान्तरले पराजित गर्नुभयो । यहाँ पनि कांग्रेस-एमालेले पालैपालो जीत हासिल गरेका थिए ।
ललितपुर २ मा रास्वपाकै जगदीश खरेलले काँग्रेसका प्रेमकृष्ण महर्जनलाई पराजित गर्नुभएको छ भने ललितपुर ३ मा रास्वपाकै तोषिमा कार्की लगातार दोस्रोपटक विजयी हुनुभएको छ ।