रास्वपा स्पष्ट बहुमत तर्फ

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा स्पष्ट बहुमत तर्फ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएर सरकार बनाउने गरी चुनावी नतिजा हात पारिरहेको छ । 

रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन्द्र शाह र पार्टी अध्यक्ष रवि लामिछानेसहित अधिकांश उम्मेदवारले निकै फराकिलो अन्तरले चुनाव जितिरहेका छन् । अहिलेसम्मको नतिजा अनुसार रास्वपाले ६२ स्थानमा जितेको छ । ६० ठाउँमा रास्वपा अग्रस्थानमा छ । 

रास्वपाका अधिकांश उम्मेदवार १० भन्दा बढीको फरकले अरु उम्मेदवारभन्दा अघि छन् । यसैगरी नेपाली कांग्रेस १० स्थानमा विजयी भएको छ । कांग्रेसका उम्मेदवार १० स्थानमा अगाडि हुँदा पार्टी सभापति गगन थापा भने सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेश सिंह भन्दा ८ हजारभन्दा बढी मतले पछाडि पर्नुभएको छ ।

नेकपा एमालेले ३ स्थानमा जित निकालेको छ। उसका उम्मेदवार ७ स्थानमा अघि छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सबै पदाधिकारीले चुनाव हारेका छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाले ३ स्थानमा जितेको छ भने ५ स्थानमा अघि छ । वर्षमान पुनले रोल्पाबाट चुनाव जित्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट ज्ञानबहादुर शाहीलाई जिताएर खाता खोलेको छ । स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट विजयी हुनुभएको छ । अध्यक्ष हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता बनाएको छ । पछिल्लो अपडेट अनुसार नेकपाबाट उम्मेदवार पूर्वप्रधानम्नत्री माधवकुमार नेपाल रौतहट १ मा पराजित हुनुभएको छ ।

रास्वपाबाट तनुहँ १ मा स्वर्णिम वाग्ले, भक्तपुर १ मा रुकेश रञ्जित र २ बाट राजीव खत्री, ललितपुर १ मा बुद्धरत्न महर्जन, ३ बाट तोषिमा कार्की विजयी हुनुभएको छ । रास्वपाबाटै सिन्धुली २ मा आशीष गजुरेल, गुल्मी १ मा सागर ढकाल, २ मा गोविन्द पन्थी, बारा ४ मा रहबर अन्सारी, पर्सा २ मा सुशीलकुमार कानु, रुपन्देही २ मा सुलभ खरेल र नुवाकोट २ मा अच्युतम लामिछाने विजयी हुनुभएको छ । 

यस्तै बागलुङ १ मा सुशील खड्का र बागलुङमा सोम शर्मा, बारा ३ मा अरविन्द साह, मोरङ ४ मा रुविना आचार्य, पर्सा १ मा बुद्धिप्रसाद पन्त, स्याङजा १ मा धनन्जय रेग्मी, पर्वत १ मा सागर भुसाल, रुपन्देही ३ मा लेखज‌ंग थापा र कैलाली १ मा कोमल ज्ञवाली विजयी हुनुभएको छ । रास्वपाका सबै जितमा फराकिलो मतान्तर रहेको छ ।

यसैगरी झापा २ मा पूर्वउपसभामुख इन्दिरा रानामगरको अग्रता कायमै छ । नेपाली कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन थकाली र रसुवामा मोहन आचार्य विजयी हुनुभएको छ । कांग्रेसबाट सुर्खेत १ मा विष्णुबहादुर खड्का, दैलेख २ मा बासना थापा, तेह्रथुममा सन्तोष सुब्बा, डोटी १ मा भरतबहादुर खड्का, जाजरकोट १ मा खड्गबहादुर बुढा, अछाम १ मा भरतबहादुर स्वाँर र कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह विजयी हुनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल रुकुमपूर्व र महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी हुनुभएको छ । नेकपा एमालेबाट बाँके २ मा मोहम्मद इश्तियाक राई, बझाङ १ मा ऐनबहादुर महर र दैलेख २ बाट लक्ष्मीप्रसाद पोखरेलले जित हासिल गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.