
काठमाडौं । यसपटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिकांश नयाँ अनुहार संसद् प्रवेश गर्दा पुराना दलका ‘हेभीवेट’ अर्थात् प्रभावशाली नेताहरू पराजित भएका छन् ।
पूर्वप्रधानमन्त्री, पार्टी प्रमुखदेखि, पार्टी नेतृत्वको रूपमा हेरिएका, पटक–पटक सांसद तथा मन्त्री भइसकेका नेताहरू समेत मतदाताबाट अस्वीकृत भएका छन् । धेरै स्थानमा नयाँ उम्मेदवारले स्थापित नेताहरूलाई फराकिलो मतान्तरले पराजित गर्दा संसदीय राजनीतिका खेलाडी भनिएका नेताको नराम्रो हार भएको छ भने ती दलका किल्ला र गढ भत्किएका छन ।
यसपटकको निर्वाचनमा पुराना दलका प्रभावशाली नेताहरु मतदाताबाट अस्वीकृत भएका छन् । २०७९ को निर्वाचनमा झापा ५ बाट २८ हजार ५ सय ७६ मतान्तरले विजयी हुनुभएका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि यो चुनावमा जनमत १ सय ८० डिग्रीको कोणमा उल्टियो ।
यसपटक उहाँ रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसँग अघिल्लो पटक पाएको हाराहारीकै मतान्तरमा पराजित हुनुभयो । शाहले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले ४९ हजार ६ सय १४ मत पाउनुभयो । २०४८ यता ओलीको यो दोस्रो हार हो । यसअघि उहाँ २०६४ मा पराजित हुनुभएको थियो ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गुरु घिमिरे र प्रदीप पौडेल दुवै जना रास्वपाका उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भएका छन् । मोरङ ४ रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत प्राप्त गर्दा घिमिरेले १२ हजार ८१८ मत प्राप्त गर्नुभयो । पौडेल काठमाडौं– ५ मा रास्वपाका सस्मित पोखरेलसंग २१ हजार ५ सय ७८ मतान्तरले पराजित हुनुभयो ।
कांग्रेस सहमहामन्त्रीहरु उदय शमशेर राणा ललितपुर–१ बाट, प्रकाश स्नेही रसाइली बझाङबाट ,फरमुल्लाह मन्सुर बारा–३ बाट र योगेन्द्र चौधरी दाङ–१ बाट पराजित भएका छन् । कोइराला परिवारको विरासत बोक्नुभएका कांग्रेस नेता शेखर कोइराला मोरङ ६ मा रास्वपाकी रुविना आचार्यसंग ४२ हजार ६ सय ६३ मतको फराकिलो अन्तरमा पराजित हुनुभयो ।
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि रास्वपाका प्रवक्ता मनिष झासंग २७ हजार ३ सय ३६ मत अन्तरले पराजित हुनुभयो । एमाले उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी २ बाट ५ सय ६१ मतले मात्रै पराजित हुँदा एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले फराकिलो हार व्यहोर्नुभएको छ ।
उहाँ रास्वपाका सुलभ खरेलसँग ४३ हजार ६ सय ८९ मतको अन्तरले पराजित हुनुभयो । त्यस्तै अर्का उपाध्यक्ष पुर्वमन्त्री पृथ्वीसुव्वा गुरुङ लमजुङबाट रास्वपाका धर्मराज केशीसंग पराजित हुनुभयो । एमाले महासचिव शंकर पोखरेल समेत रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग दाङ २ मा पराजित हुनुभयो ।
यसैगरी पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका एमाले उपमहासचिव रघुवीर महासेठ– धनुषा–४ मा रास्वपाका राजकिशोर यादवसँग पराजित हुनुभयो । एमालेकै उपमहुचिव लेखराज भट्ट कैलाली ४ बाट पराजित हुनुभयो । एमाले सचिव महेश बस्नेत भक्तपुर–२, शेरधन राई भोजपुर, राजन भट्टराई काठमाडौं–४ र भानुभक्त ढकाल तेह्रथुमबाट पराजित हुनुभयो ।
नेकपा एमालेका पूर्वउपाध्यक्ष इश्वर पोखरेलले समेत हार बेहोर्नुभएको छ । उहाँ काठमाडौं– ५ मा रास्वपाका सस्मित पोखरेलसंग २६ हजार ३५ मतले पराजित हुनुभयो । एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नम्बर–१ रास्वपाका उम्मेदवार सागर ढकालसँग १५ हजार १ सय २० मतान्तरले पराजित हुनुभयो ।
पुर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल समेत पराजित हुनुभएको छ । लामो समय नेकपा एमालेको महासचिव रहनुभएका उहाँ रौतहट १ मा तेस्रो स्थानमा समेटिँदा प्रतिस्पर्धा देखिनुभएन । रास्वपाका राजेशकुमार चौधरीले २८ हजार ९ सय ५६ मत पाउँदा उहाँले ७ हजार ६ सय ६९ मत मात्रै प्राप्त गर्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पनि कांग्रेसका भरतकुमार स्वाँरसँग झिनो मतले पराजित हुनुभयो । स्वारले १० हजार ७५९ मत ल्याउँदा रावल १० हजार २३३ मतमा सीमित हुनुभयो । नेकपा नेता नारायणकाजी श्रेष्ठ समेत पराजित हुनुभएको छ । उहाँ सर्लाही ३ मा रास्वपाका नरेन्द्र शाह कलवारसँग पराजित हुनुभयो ।
चितवन महानगरकी पुर्वप्रमुख रेणु दाहाल चितवन ३ मा रास्वपाकी सोविता गौतमसँग पराजित हुनुभयो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ मा रास्वपाका प्रकाश पाठकसँग पराजित हुनुभयो । राप्रपाकै नेता कमल थापाको काठमाडौंका जमानत जफत भएको छ ।
पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो सर्लाही २ मा रास्वपाका रविन महतोसँग पराजित हुनुभयो । त्यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं ३ बाट पराजित हुनुभएको छ । यसरी यो निर्वाचनमा पराजयको स्वाद चाख्ने हेभिवेटको सूची निकै लामो बन्दै गएको छ ।