
काठमाडौं । नेपाली राजनीतिमा प्रजातन्त्र प्राप्तिपछिको झन्डै ३५ वर्षमा दोस्रो पटक उलटपुलटको स्थिति देखिएको छ ।
२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा तत्कालिन माओवादी केन्द्रलाई दिएको मतभन्दा भारी मत १८ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदाताले दिएका छन् । झन्डै ३५ वर्षदेखि पालैपालो सरकारको नेतृत्वमा गर्दै आएका पुराना दललाई यस पटक मतदाताले उठ्न नै नसक्नेगरि किनारामा धकली दिएका छन् भने रास्वपालाई स्पष्ट काम गर्ने मौका दिएको छ ।
जेन-जी विद्रोहको म्यान्डेटमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आम मतदाताले परिवर्तनको पक्षमा मत दिएका छन् । पुराना राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत राप्रपा र मधेश केन्द्रित दललाई समेत यसपटक मतदाताले दण्डीत गरिदिएका छन् ।
पटक-पटक सत्तामा पुगेका तर आमजनताको पक्षमा काम नगरेको भन्दै जनताले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाइ नजिकको मत दिएर अनुमोदन गरेका हुन् । पुराना दलले आममतदाताको मागलाई बारम्बार उपेक्षा गरेकाले नै यसपटक नयाँ दल र उम्मेदवारको पक्षमा जनमत आएको युवा पुस्ताको भनाइ छ ।
जनताका गुनासा सम्बोधन गर्ने ठाँउमा पटक-पटक पुग्दा पनि दलहरुले बेवास्ता गर्दाको परिणाम निर्वाचनमा ब्यालेटमार्फत पुनरावलोकन गर्ने ठाँउमा पुर्याइदिएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ । राजनीतिक दलका नेताले पनि विगतमा मतदाताको गुनासो सम्बोधन नगर्दाको परिणाम मतबाट प्रकट गरिएको स्वीकार गरेका छन् ।
पुराना दललाई आफ्नै नेता कार्यकर्तादेखि मतदाताले सच्चिएर अघि बढ्न मतबाट अस्वीकार गरेका छन् भने निर्वाचनबाट रास्वपालाई झन्डै दुई तिहाइको मत दिएर पाँच वर्ष काम गर्ने जिम्मेवारी दिएका छन् ।