
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले पार्टी एकताको पक्षमा दबाब अभियान सुरू गरेको छ ।
विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया सुरू गरिरहेका बेला संस्थापन पक्ष निकट तरूण दलका नेता, कार्यकर्ताहरूले मंगलबार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दबाब दिएका हुन् । उनीहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह समेत गरेका छन् ।
महामन्त्री थापा सिंगो पार्टीको नेता बन्नसक्ने भएकाले उहाँलाई पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरूण दलका सभापति विद्वान गुरूङले बताउनु भयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताको पक्षमा रहेको र त्यसैकारण दुई पक्षबीच वार्ता भइरहेको समेत बताउनु भयो ।
नेपाल तरूण दलका नेता, कार्यकर्ताहरूले पार्टी विभाजन भए पनि पार्टी कार्यालय सानेपा कब्जा गर्न कसैलाई पनि नदिने चेतावनी समेत दिएका छन् ।