
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरूले पार्टी एकताबद्ध भएर जाओस् भन्ने चाहेको बताउनुभएको छ ।
मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै पार्टी नेतृत्वको कारण पार्टी विभाजित नहुने स्पष्ट पार्नुभयो । उहाँले काठमाडौंमा जारी दोस्रो महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणी पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी पार्टी एकताबद्ध भएर जाओस् भन्ने चाहन्छौँ । कुरा पनि भइरहेको छ । र, हाम्रो कारणले, पार्टी नेतृत्वको कारणले पार्टी फुट्दैन । पार्टी विभाजन हुँदैन । त्यो पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन । त्यसकारण हामी एकदमै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउन कोशिस गरिरहेका छौँ । उहाँहरूले पनि त्यही लचकताका साथ आउनुपर्यो ।’
उहाँले पार्टी एकतालाई जोगाइराख्न विशेष महाधिवेशन पक्षधरलाई लचकता अपनाउन अपील समेत गर्नुभयो ।