
काठमाडौं । नेपाली कांग्रेसका निःवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गर्नुभएको छ ।
आइतबारबाट काठमाडौंमा सुरू भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरूले युवा नेतृत्व चाहेको र त्यो अभियानलाई महामन्त्रीद्वय थापा र शर्माले अधुरो छोड्न नमिल्ने समेत बताउनु भयो ।
उहाँले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरूको सपना पूरा हुनेगरी विकासको खुड्किलोमा अघि बढाउनुपर्ने बताउनु भयो । नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाइ कांग्रेसबाट भएको हेर्न चाहेको समेत बताउनु भयो । उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरूलाई उम्मेदवार बनाउनुपर्ने प्रस्ताव समेत गर्नुभयो ।
नेता चौधरीले नेपाली कांग्रेसले जेन-जीको भावनाअनुसार चल्नुपर्ने समेत बताउनु भयो ।