अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका दुई हजार घरधुरीमा एक घर एकधारा निर्माण गर्ने गरी बृहत् खानेपानी आयोजनाको काम अगाडि बढाइएको छ ।
तीन वर्षमा यो परियोजनाको प्रगति ८५ प्रतिशत छ । अर्घाखाँचीकै गौरवको योजना हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी आयोजनाको केरूङ्गाको कालिकामा बनेको टंकीमा पानी खसाल्ने काम सफल परीक्षण भएपछि छत्रदेववासीमा खुसी छाएको छ ।
बिडारी निर्माण सेवाले ३२ करोड ८४ लाख रूपैयाँको लागतमा २०७९ चैत १ गते ठेक्का लिएको यो आयोजना २०८२ फागुन सम्पन्न गर्ने गरी काम भइरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी निर्माण कार्य तिव्र बनाएपछि छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरूंगा र छत्रगञ्जका झन्डै १२ हजार नागरिक लाभान्वित हुनेछन् ।
२ स्टेज पम्पिङ रहेको यो आयोजनामा कलेक्टर वेलबाट माथि ट्रिटमेन्ट प्लान्टमा पहिलो पम्पिङ गर्ने र त्यस स्थानमा पानी प्रशोधन भइसकेपछि मौलीपोखराको ६० घनमिटरको ट्यांकीमा पानी पठाइन्छ । मौलीपोखराको ट्यांकीबाट सिधैं कोटमा रहेको ५ सय र १ सय २० घनमिटरको ट्यांकीमा पानी खसालेपछि त्यहााँबाट ५ वटा वडाका विभिन्न २३ स्थानमा बनेका ट्यांकीमा पानी लैजाने गरी काम सम्पन्न हुने आन्तिम चरणमा पुगेको छ । सुक्खा क्षेत्रका रूपमा रहेको छत्रदेव गाउँपालिकामा यो आयोजनाले घन्टाैं हिँडेर पँधेरो धाउनुपर्ने बाध्यता हट्ने आशा स्थानीय नागरिकले राखेका छन् ।
डीपीआर भएर पनि ६ वर्षसम्म अघि बढ्न नसकेको यो आयोजना निर्माण सुरूभएको ३३ महिनामा ८५ प्रतिशतभन्दा बढी भौतिक र ८३ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । यो आयोजनामा करिब ५ सय मिटर उचाइँमा रहेको कालिकाको टंकीमा पानी सफल परीक्षण भएपछि छत्रदेव गाउापालिकाका झन्डै २ हजार घरधुरीमा एक घर एक धारा बन्ने पक्का भएको हो ।