ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

पुस २१, २०८२ |भोटराज राई
ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-७ होक्सेमा पर्ने मदनभण्डारी लोकमार्गमा साेमबार सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मदन भण्डारी लोकमार्गमार्फत होक्सेबाट चुहाडेतर्फ आउँदै गरेको स १ त २८२५ नम्बरको ट्रयाक्टर ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरमा सवार त्रियुगा नगरपालिका-६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही वडाको मोहनपुर बस्ने २६ वर्षीया आशा सदाको मृत्यु भएको हो । उनीहरूलाई जिल्ला अस्पताल उदयपुरमा लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी त्रिनपा-६ मोहनपुरकी ४० वर्षीय समिद्रा सदा र सोही वडाको जलजले बस्ने ४५ वर्षीय शम्भु सदा घाइते भएका थिए । उनीहरुकाे जिल्ला अस्पताल उदयपुरमा उपचार भएकाे छ भने उनीहरु घर फर्केका छन् । दुर्घटनामा पश्चात् ट्रयाक्टर चालक त्रिनपा-६ बगरटोलका ३० वर्षीय बिलेतिय भन्ने मनोज साह घटनास्थलबाटै फरार रहेकोले खोजतलास भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।