लुम्बिनीमा पर्यटक बढे पनि बसाइँ अवधि बढ्नै सकेन

पर्यटन व्यवसायी र राज्य उचित लाभ लिनबाट वञ्चित
पुस २०, २०८२ |मनोज पौडेल
लुम्बिनीमा पर्यटक बढे पनि बसाइँ अवधि बढ्नै सकेन

रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी धार्मिक पर्यटको प्रमुख गन्तव्य हो । 

त्यहाँ पुग्ने धेरै पर्यटकले अध्यात्मिक वातावरणमा रमाउने उद्देश्य राखेका हुन्छन् । लुम्बिनीमा बर्षेनि पर्यटक बढ्दै गए पनि उनीहरूको बसाइँ लम्ब्याउन नसक्दा पर्यटन व्यवसायीदेखि राज्यले उचित लाभ लिनसकेका छैनन् । सन् २०२५ मा विश्व शान्तिको मुहान लुम्बिनी विश्वका आधा देशका नागरिकले भ्रमण गरेका छन् । 

२०२५ मा भारतीयबाहेक एक सय ६ मुलुकका पर्यटक र तीर्थयात्री लुम्बिनी आएका हुन् । विश्वकै ठूलो मुलुक चीनदेखि ४० हजार १ सय ९७ जनसंख्या भएको एक सय ६० वर्ग किलोमिटर क्षेत्रफल रहेको सानो युरोपेली मुलुक लिक-टेन्स्टाईनसम्मका पर्यटक लुम्बिनी आएका छन् । 

नजिकको चीनदेखि सबैभन्दा टाढा रहेको दक्षिण अमेरिकी मुलुक चिलीसम्मका पर्यटक र तीर्थयात्री आएका छन् । चीनबाट १० हजार ७ सय ८९ पर्यटक आएका थिए भने नेपालबाट १७ हजार ७ सय ७९ किमि पर रहेको चिलीबाट ३२ पर्यटक आएका थिए । इजरायलबाट एक सय ७७ र रूसको आक्रमणले तहसनहस भएको युक्रेनका पनि शान्ति खोज्दै ९५ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

लुम्बिनीमा विदेशी पर्यटक र तीर्थयात्रीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष २६ प्रतिशतले पर्यटक आगमन बढेको छ । यस्ले पर्यटक आवागमनमा उत्साह थपिए पनि उनीहरुको लेन्थ अफ स्टे बढाउन नसक्दा लुम्बिनी एक दिने पर्यटन गन्तव्यको रुपमा मात्र रहँदा कसैले फाइदा पाउन सकेका छैनन् । 

२०२५ मा एक सय ६ देशका एक लाख ४० हजार ९ सय ६९ पर्यटकले भ्रमण गरेका थिए । २०२४ मा एक सय १० देशका एक लाख ११ हजार ४०३ पर्यटक आउँदा २०२३ मा ८५ मुलुकका ७६ हजार २१० पर्यटक आएका थिए । ४ वर्षदेखि विदेशी पर्यटक बढ्दै गएका छन् ।

लुम्बिनीमा पर्यटकको आगमन बढे पनि बसाइँ नबढ्दा भने व्यवसायी चिन्तित छन् । बढेको अंकमा रमाउनुभन्दा पर्यटकलाई बसाइँ लम्ब्याउने योजना बनाउन लाग्नु पर्नेमा जोडदिनु पर्ने उनीहरू बताउँछन् । यसका लागि आकर्षक प्याकेज बनाउनु पर्छ ।लुम्बिनीमा विदेशी पर्यटक बढे पनि स्वदेशी र भारतीय पर्यटक भने घटेका छन् । 

२०२४ को तुलनामा २०२५ मा ७ प्रतिशत नेपाली र १० प्रतिशत भारतीय घटेका छन् । २०२५ मा दुई लाख ७० हजार ३ सय ८७ भारतीय आएका थिए भने २०२४ मा ३ लाख ८ सय ८९ जना आएका थिए । लुम्बिनी विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार हो । अर्थात् मिनि बौद्ध बर्ल्ड हो । यहाँका मन्दिर विहार र गुम्बाका बनावट, कलाशैली उत्तिकै आकर्षक छन् । 

त्यसैले पर्यटकलाई भुलाउनका लागि निजी र सरकारी प्रयासको हातमालो गरेर पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउनु जरूरी छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।