बुद्ध एयरको जहाज दुर्घटनापछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालन

पुस १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बुद्ध एयरको जहाज दुर्घटनापछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालन

काठमाडौं । शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटनापछि बन्द रहेको भद्रपुर विमानस्थल सञ्चालनमा ल्याइएको छ । 

विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रनवे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताउनु भयो । उहाँकाअनुसार शुक्रवार राति ९ बजेर १० मिनेटमा ल्यान्ड गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो । 

मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको उहाँले बताउनु भयो । प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्नुहुँदै उहाँले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने जानकारी दिनुभयो । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । 

उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । जहाज दुर्घटना भएको आवाज सुनेपछि स्थानियहरूले यात्रुको उद्धार गरेका थिए । दुर्घटनामा परी विमानका को-पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् । 

घाइतेमध्ये को-पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको छ । उहाँहरुको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भईरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.