दाङ । लगातारको चिसोका कारण दाङको जनजीवन प्रभावित बनेको छ ।
चिसोका कारण न्यून आय भएका र ज्याला मजदुरी गरी खाने वर्गलाई सबैभन्दा मारमा परेको छ । पठनपाठनमा समस्या भएपछि जिल्लाका विद्यालय तीन दिनका लागि बन्द गरिएका छन् । अस्पतालमा चिसोका बिरामी बढिरहँदा चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।
चिसोका कारण ज्येष्ठ नागरिक तथा बालबालिका बढी प्रभावित बनेका छन् । बजारमा त्यति चहलपहल छैन् भने सडकमा कमै मात्रामा सवारीका साधन गुडेका छन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग अझ धेरै प्रभावित बनेको छ । चिसोकै कारण ग्राहकहरू नआएको व्यवसायीले बताएका छन् ।
लगातार चिसो बढेको र नागरिकको दैनिक जीवन प्रभावित बनेको भन्दै जिल्लाका विभिन्न सामाजिक संघ/संस्था तथा सामुदायिक वन समूहहरूले दाउरा वितरण गरेका छन् । चिसोबाट बच्नका लागि न्यानो कपडा लगाउन, तातो खोलिलो खानेकुरा खान र आगो ताप्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
बिहान र बेलुका बाक्लो हुस्सु र चिसोले दाङमा जनजीवन निकै कष्टकर बनाएको छ । जल तथा मौसम विज्ञान कार्यालय घोराहीका अनुसार दाङको न्यूनतम तापक्रम ८ डिग्रीमा झरेको छ । केही दिनमा मौसममा सुधार नआए अवस्था अझै जटिल बन्दै जानेछ ।