
काठमाडौं । भदाै २३ र २४ को जेन-जी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ को लागि निर्वाचन तोकेको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार दलहरू अघि बढेसँगै अहिले सर्वत्र चुनावी चर्चा चुलिएको छ । त्यसो त चुनावका बारेमा जने-जी समूहबीच नै फरक मत छ । तर दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । र, अहिले जेन-जी आन्दोलनमा सहभागी कति जना समानुपातिकको सूचीमा परे भन्ने चौतर्फी चासो छ ।
पूराना भनिएका र आन्दोलनको समयमा सरकारको नेतृत्वमा रहेका दलहरूले जेन-जीलाई सम्झिएको देखिँदैन । उनीहरूले पुरानै अनुहारलाई समानुपातिकको बन्द सूचीमा स्थान दिएका छन् । तर नयाँ भनिएका र जेन-जीको आन्दोलन र मुद्दाको अपनत्व लिने दाबी गरेका दलहरूको बन्द सूचीमा समेत जेन-जीको प्रतिनिधित्व देखिएन ।
वैकल्पिक भनिएका रास्वपाबाट पुरूषोत्तम यादव मात्र जेन-जी आन्दोलनमा सहभागी हुनुभएको थियाे । उमेर समुहलाई आधार मान्दा रामजी राम , तासी लोहोजाम सूचीमा समावेश हुनुहुन्छ । त्यस्तै जेन-जी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा पनि रास्वपाको समानुपातिक सूचीमा समावेश हुनुहुन्छ ।
जेन-जी आन्दोलनपछि गठित जनादेश पार्टीले जेन-जी आन्दोलनका सहिद श्रेयम चौलागाईँका बुबा गणेश चौलागाईँ र जेन-जी आन्दोलनका घाइते सञ्जीव सापकोटाको नाम सूचीमा समेटेको छ । नेपाली कांग्रेसको बन्दसूचीमा जेन-जी सहिद धिरज श्रेष्ठका बुबा नारायण पर्नु भएको छ ।
नयाँ र वैकल्पिक भनिएका दलहरूको सुचीमा पनि जेन-जी आन्दोलनमा सहभागीहरूको संख्या अपेक्षाअनुरूपको नहुनुले परिवर्तनलाई धेरैले स्वीकार्न नसकेको जेन-जी अभियन्ताहरू बताउँछन् । समानुपातिक उम्मेदवार छनोट समानुपातिक सिद्दान्त अनुरूपको नभएको उनीहरूको बुझाइ छ ।
अघिल्ला निर्वाचनहरूमा भन्दा यसपटक दलहरूले केही सुधार गरे पनि समानुपातिक सूचीमा त्रुटिहरू रहेको जेन-जीको बुझाइ छ । समानुपातिक प्रतिनिधित्व सामान्य सिद्दान्त भनेकै जसको आवाज नीति निर्माण तहमा पुगेको छैन् उसको आवाज मुलधार वा राज्यका निकायसम्म पुर्याउने अवस्थाको सुनिश्चितता हो । तर पहिलेदेखिनै समाजमा स्थापित र चर्चित व्यक्तिहरूलाई समानुपातिक सूचीमा राखिएको भनेर अहिले आलोचना भइरहेको छ ।
जेन-जी आन्दोलनपछि हुन लागेको निर्वाचनमा बढीभन्दा बढी जेन-जी पुस्ताको प्रतिनिधित्व संसद्मा हुने गरी निर्वाचन हुनुपर्ने अभियन्ताहरूको माग छ ।