फागुन २१ को चुनावलक्षित मधेसवादी दलहरूको एकीकरण तीव्र

पुस १४, २०८२ |नारायण किलम्बू
फागुन २१ को चुनावलक्षित मधेसवादी दलहरूको एकीकरण तीव्र

काठमाडौं । वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबीच एकता भएसँगै तराई-मधेस केन्द्रित राजनीतिक दल पनि एकतामा जुटेका छन् । 

यसक्रममा आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्ष्य गर्दै जनता समाजवादी पार्टी नेपालले लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीको रेणु यादव समूहसँग एकीकरण गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित गर्दै तराई-मधेस केन्द्रित दलहरू एकता अभियानमा जुटेका छन् । 

वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीच एकता भएपछि तराई-मधेस केन्द्रित दल पनि एकतामा जुटेका हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग एकता गरेको भोलिपल्ट जनता समाजवादी पार्टीको रेणु यादव समूहसँग पनि एकीकरण घोषणा गरेको छ । 

यसबाहेक संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध विचार मिल्ने दलसँग मोर्चाबन्दी गरेर अघि बढ्ने योजनामा नेताहरू छन् । जेन-जी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिमा हुन लागेको निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता तथा पहिचान पक्षधर एकताबद्ध भई अघि बढ्ने नेताहरूले जनाएका छन् । 

त्यसो त लोकतान्त्रिक मोर्चामा आबद्ध ८ दलमध्ये जसपा नेपाल र नागरिक उन्मुक्ति राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्ह लिएर निवार्चान जाने निर्णय गरिसकेका छन् । मोर्चामा नेपाल जनमुक्ति पार्टी, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल सामेल भइसकेका छन् । पटक-पटक टुटफूटबाट गुज्रँदै आएका तराई-मधेस केन्द्रित दलहरूबीच पछिल्ला समय भएका एकतासहितको अभियानले नयाँ सन्देश दिएको नेताहरूको भनाइ छ ।

तराई-मधेसमा विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ र पछाडि परेका समुदायको हक अधिकारको सुनिश्चितताका लागि पनि एकता र मोर्चाबन्दीको आवश्यकता रहेको उनीहरूको बुझाइ छ । अब निवार्चनमा पनि साझा धारणा बनाएर अघि बढ्ने निष्कर्षमा पुगेका दलहरू लोकतान्त्रिक मधेसी मोर्चालाई पुरानै अवस्थामा फर्काउने अभियानमा छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।