
काठमाडौं । विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पाका पुस्ताका नेताहरू अर्जुननरसिंह केसी र भिष्म आङदाम्बे लगायतलाई समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ ।
कांग्रेसले समानुपातिकतर्फको क्लष्टरअनुसार नै सबै पक्षलाई समेटेर समानुपातिकतर्फको लिष्ट बुझाएको दाबी गरेको छ। तर पटक-पटक प्रतिनिधि सभा पुगेका नेताहरूको नाम फेरि पनि समानुपातिक सूचीमा परेका छन्। हुन त कांग्रेसले ६४ सालदेखि प्रदेश र संघमा समानुपातिकतर्फबाट संसद्मा अवसर पाएकालाई नदोहोर्याउने भनेको थियो। तर कार्यान्वयनमा भने यसअघि निरन्तर अवसर पाइरहेकाहरूको नाम समानुपातिक सूचीमा पारेको हो।
त्यस्तै अर्को ठूलो दल नेकपा (एमाले)ले पनि जेन-जी आन्दोलपछि सबैको भावनालाई उठेका प्रश्नलाई सम्बाेधन गर्ने गरी समानुपातिकतर्फको उम्मेदवारको लिष्ट तयार गरेको जनाएको छ । पाका, युवा र जेन-जी पुस्तालाई समानुपातिक उम्मेदवारमा समटेको जनाए पनि पटक-पटक अवसर पाएका नेताहरूलाई समावेश गरेको छ ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा, सचिव पद्मा अर्याल, महाधिवेशनमा पराजित गुरू बरालदेखि पटक-पटक अवसरमा पाएका टुक्का हमाल, निरूदेवी पाल, कोमल वली, शान्ता चौधरी, भूमिका सुब्बा, गोरख बोगटीजस्ता नेताहरू पनि समानुपातिक सूचीमा परेका छन्। नयाँ पुस्ताबाट मिना बराल, मनकुमारी तितुङ्, मायादेवी पोडेनीलगायतका नयाँ नामहरूलाई भने एमालेले सूचीमा समावेश गरेको छ।
जेन-जी आन्दोलनपछि हुन लागिरहेको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको १ सय १० सिटका लागि सोमबार दलहरूले निर्वाचन आयोगमा सूची बुझाएका हुन्। मधेश केन्द्रीत दलहरूले पनि पुरानै अनुहारलाई दोहोर्याएका छन्। लोसपाले निर्जला राउत र सिद्धि यादवलाई दोहोर्याएको छ। जसपा नेपालले भर्खरै एकतामा आएका पुराना नेता रेणु यादवलगायतलाई सूचीमा राखेको छ।
निर्वाचन आयोगले समानुपातिक तर्फको सूची बुझाउनका लागि साेमबारसम्मको समय तोकेको थियो। साेमबार सूची बुझाएकाहरूले एक साताभित्र सूचीमा नाम हेरफेर गर्न सक्नेछन्।