रास्वपाकाे समानुपातिकको शीर्ष स्थानमा पर्नेहरूको सूची तयार

बालेन्द्र शाह पक्षको नाम समावेश छैन, रास्वपासँग उज्यालो नेपालका संरक्षक घिसिङ छलफलमा
पुस १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपाकाे समानुपातिकको शीर्ष स्थानमा पर्नेहरूको सूची तयार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले समानुपातिकको आन्तरिक उम्मेदवार छनोटमा शीर्ष स्थानमा पर्नेहरूको सूची तयार पारेको छ। 

प्रधानमन्त्रीको उम्मेदवार बन्नेगरी रास्वपा प्रवेश गर्नुभएका बालेन्द्र शाहको तर्फबाट समानुपातिकमा सहभागी हुनेको नाम भने सूचीमा समावेश छैन। यसअघि मन्त्री बन्ने भन्दै चर्चामा आएकी टासी लाजोम, उपनिर्वाचनमा इलाममा प्रतिस्पर्धा गरेका मिलन लिम्बु, साझा विवेकशीलसँगको एकतापछि पार्टीमा सामेल समिक्षा बाँस्कोटा र रञ्जु दर्शनालगायतको नाम सूचीमा परेका छन्।

रास्वपाको ३१ जनाको सूचीमा आन्तरिक प्रतिस्पर्धामा सबैभन्दा अगाडि रहेका रमेश प्रसाईँको नाम पहिलो नम्बरमा भने त्यसपछि प्रमोद न्यौपाने छन्। रञ्जु दर्शना, टिका संग्रौला, लिमा अधिकारीलगायतको नाम त्यसपछि उल्लेख छ। रास्वपाले प्राथमिक निर्वाचनबाट समानुपातिक उम्मेदवार चयन गर्ने अभ्यास गरेको हो ।

उता कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले ११० जनाकै सुची बुझाइसकेको छ । तर अहिले रास्वपासँग उज्यालो नेपालका संरक्षक घिसिङ र रास्वपाका नेताहरू सहमतिका लागि छलफलमा रहेका छन्। अहिले स्रोतले बताएअनुसार बालेन्द्र शाहको पक्षमा समानुपातिकमा ४० प्रतिशत र कुलमानलाई १० प्रतिशतको प्रस्तावमा छलफल चलिरहेको बुझिएको छ।

तीन बीचको छलफलपछि समानुपातिक उम्मेदवारको संख्या टुङ्गो लाग्ने बालेन्द्र शाहको सचिवालय स्रोतले जनाएको छ। कतिपय उम्मेदवारलाई प्रत्यक्ष उठाउनेगरी छलफल भइरहेकाले समानुपातिक सूची टुङ्गोमा पुर्याउन समस्या भएको स्रोतले कान्तिपुरसँगको कुराकानीमा जानकारी दिएको छ।।

फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूची बुझाउने साेमबार अन्तिम दिन हो । सूची बुझाउनका लागि ४३ दलले निस्सा लिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.