
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक पूर्णरूपमा निर्वाचनमा गइसकेको बताउनुभएको छ ।
आइतबार पोखरामा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा बोल्दै सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले प्रमुख तीन राजनीतिक दलबीच निर्वाचनमा जाने विषयमा उच्चस्तरीय सहमति भइसकेको दाबी गर्नुभएको हो । उहाँले दल र जेन-जीहरूसँग सघन वार्ता गरी निर्वाचनमा जाने ठोस सहमति भई आजको नयाँ बिहानीबाट मुलुक निर्वाचनमय भएको दाबी दोहोर्याउनुभयो ।
उहाँले अब कोही पनि पछि हट्ने अवस्था नभएको जिकिर गर्नुभयो । राजनीतिक दलहरू समानुपातिक बन्दसूची तयार गर्न र गठबन्धन निर्माणमा जुटिसकेको मन्त्री खरेलको भनाइ छ । उहाँले फागुन २१ गतेपछि मुलुकको राजनीतिमा नयाँ आयाम र मानक स्थापित हुने र निर्वाचनमार्फत आउने नयाँ नेतृत्वले देशलाई विकास, समृद्धि र सुशासनको बाटोमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा बौल्दै मन्त्री खरेलले युट्युब, अनलाइन न्युज पोर्टल र डिजिटल मिडियाहरू नै अबको देशको नयाँ मूलधारको मिडिया भएको बताउदै नियमावली संशोधन गरेर दर्ता र सूचीकरणको प्रक्रियामा ल्याइने बताउनुभयो ।