नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको सपथ

पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मालाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । 

उहाँले राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित सपथ ग्रहण समारोहमा शर्मालाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहनुभएका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्रीमा नियुक्त गर्नु भएको हो । शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गर्नुभएको छ । सेनाको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा रहेका उहाँले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ समेत झन्डै चार वर्ष खटिनु भएको थियो । 

मा‌ओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्न शर्माको महत्त्वपूर्ण भूमिका थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.