
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताउनुभएको छ ।
एमालेको मुख्यालय च्यासलमा अनुगमनको क्रममा पुग्नुभएका उहाँले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताउनुभएको हो । सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्नुहुँदै उहाँले एमाले तथा राजनीतिक दलहरूलाई निर्वाचनमा प्रचारप्रसारलगायतका वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
स्वतन्त्र, भयरहीत र धाँदलीरहीत ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उहाँको भनाइ छ । उहाँले एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको बताउनु भयो । उहाँले एमाले अध्यक्ष केपी ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्नसक्ने संकेत गर्नुभयो ।
उहाँले एमालले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउनको लागि सकेसम्मको लचकता अपनाउने बताउनु भयो । भदौ २३ र २४ गतेको घटना छानबिन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउनेलगायतका विषयका काम गर्ने उहाँले जानकारी दिनुभयो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातवरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकरात्मक रूपमा लिएर काम अगाडि बढाउने बताउनु भयो । उहाँले वर्तमान अवस्थाको राजनीतिक निकास निकाल्न निर्वाचनबाहेक अर्को विकल्प नभएको पनि बताउनु भयो ।