तीन नेपाली आरोहीले गरे छुआमा पहिलो र दोस्रो हिमालको सफलतापूर्वक आरोहण

पुस ८, २०८२ |भुपाल गुरुङ
तीन नेपाली आरोहीले गरे छुआमा पहिलो र दोस्रो हिमालको सफलतापूर्वक आरोहण

पाेखरा । नेपालका तीन जना आरोही तथा माउन्टेन गाइडहरूले उपल्लो मुस्ताङको छुआमा पहिलो र दोस्रो हिमालको पहिलो पटक सफलतापूर्वक आरोहण गरेका छन् ।

संखुवासभा भोटखोला गाउँपालिकाका जेन्जेन लामा र आशिष गुरुङ र दोलखाको गौरीशंकर गाउँपालिकाका पासाङ रिन्जी शेर्पाले मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ मा पर्ने छुआमा पहिलो र दोस्रो हिमालको पहिलोपटक आरोहण गर्नुभएको हो। यो टोलीले आइतबार बिहान पौने ९ बजे ६ हजार तीन सय २५ मिटर अग्लो छुआमा दोस्रो र १० बजेर ५९ मिनेटमा ६ हजार तीन सय ६६ मिटर अग्लो छुआमा पहिलोको सफल आरोहण गरोहण गरेको हो । 

सेभेन समिट ट्रेक्सको सहयोगमा अशोक नेपाल र अनिश दाहालसहित पाँच जनाको टोली एक साताअघि छुआमा हिमाल आरोहण गर्न उपल्लो मुस्ताङ पुगेको थियो । टोलीले छुआमा दोस्रो आरोहण गरेपछि करिब एक किलोमिटर यात्रा गरेर फेरि छुआमा पहिलो शिखर अल्पाइन शैलीमा चढेको थियो । 

सरकारले गत चैतमा गण्डकी प्रदेशका १५ वटा नयाँ हिमाल आरोहण गर्न खुला गरेसँगै उनीहरूले छुआमालाई छनोट गरेका थिए । नयाँ हिमालहरूको पहिचान र प्रवर्द्धन गरी व्यवासायिक आरोहण गराउने उद्देश्यले छुआमाको आरोहण गरिएको आरोहण दलका सदस्य आशिष गुरुङले बताउनुभयो । 

नेपालका धेरैजसो हिमालमा विदेशीले पहिलो आरोहण गरेको इतिहास रहेको भन्दै अगामी दिनमा नयाँ हिमालहरूको खोजी गरी आरोहण गर्दै टोली सदस्यले बताएका छन्।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।