.png&w=1000&height=550)
धनकुटा । आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै धनकुटामा सुरक्षा निकाय र निर्वाचन कार्यालयले आन्तरिक तयारी अघि बढाएका छन् ।
निर्वाचन कार्यालयले आयोगको कार्यतालिकाअनुसार काम अघि बढाएको छ । जिल्ला सुरक्षा समिति, मतदानस्थल र केन्द्रको अवस्था निरीक्षण र सुरक्षा योजनाको तयारीमा जुटिरहँदा राजनीतिक दलका निर्वाचनलक्षित गतिविधि भने नगन्य नै छन् ।
आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा मतदानस्थल र केन्द्रको अवस्था, सुरक्षा व्यवस्थापन, मतपेटिका ढुवानी, एउटाबाट अर्को मतदानस्थलको दूरी, भौगोलिक अवस्थालगायतको अध्ययन सुरू गरिएको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का नेतृत्वको जिल्ला सुरक्षा समितिले मतदानस्थल र केन्द्रको निरीक्षण अनुगमनमा जुटेको छ ।
सुरक्षा संयन्त्रले गाउँ-गाउँ पुगेर सुरक्षा व्यवस्थाको प्रभावकारिता जाँच, प्रशासनिक कमजोरीको सुधारका साथै ठाउँ-ठाउँमा स्थानीयलाई भेटेर निर्वाचनका लागि जनविश्वास अभिवृद्धि गर्ने प्रयास गरिरहेको छ । सुरक्षा अंङ्ग, भूगोल र सडकको अवस्था, जोखिम मूल्याङ्कन, जनशक्ति परिचालन, भौतिक सुरक्षाव्यवस्थापन, मतपेटिका र मतदान सामग्री ढुवानी, भीड नियन्त्रण, आकस्मिक व्यवस्थापन, प्रभावकारी समन्वय र सञ्चारका लागि स्थलगत अध्ययन र रणनीतिक योजना निर्माणमा जुटेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ सय १९ मतदानस्थल तय भएका छन् । मतदानस्थलको टुंगो लागे पनि मतदान केन्द्रको सङ्ख्या भने केही थपघट हुनसक्ने बताइएको छ । तोकिएका १ सय १९ मतदानस्थलमध्ये ५४ सामान्य, ४९ संवेदनशील र १६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।
आयोगले निर्वाचन तयारी सुरू गरिसके पनि गाउँघरमा राजनीतिक दलका निर्वाचनलक्षित गतिविधि देखिँदैनन् । दलगत भेला र उम्मेदवारको चर्चा परिचर्चा नहुँदा निर्वाचन आउँदै गरेको अनुभूति नै नभएको स्थानीय बताउँछन् । निर्वाचन कार्यालय र सुरक्षा निकाय तयारीमा जुटिरहँदा राजनीतिक दलहरूले समेत जनस्तरमा विश्वास जगाउने गरी गतिविधि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।