काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदानको तयारी चलिरहँदा नेता-कार्यकर्ता भने आ-आफ्ना पक्षका उम्मेदवारलाई जिताउन भोट माग्न व्यस्त भए ।
बन्दसत्र स्थल भृकुटीमण्डपमा गीत, संगीत र नाचगानको माध्यमबाट भोट मागिरहेका दृश्य रोचक देखिए । एमाले महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डप केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिनिधिहरूलाई आ-आफ्ना पक्षमा पार्ने प्रतिस्पर्धाले यसै त रोचक त बनेको थियो नै, त्यसमाथि प्रचारको फरक शैलीले झन् रोमान्चक बनाएको देखियो । नेता-कार्यकर्तामात्र होइन, कलाकारहरूसमेत गीतसंगीतका माध्यमबाट भोट मागिरहेका देखिए ।
गीत संगीत भनेपछि को आकर्षित हुँदैन र ? कलाकारका प्रस्तुतिमा नेता-कार्यकर्तासमेत कम्मर मर्काइमर्काइ नाचगानमा सरिक भए । आ-आफ्ना पक्षका नेता जिताउन फरक-फरक शैलीको होडबाजी नै चल्यो । तर प्रविधिको युगमा एमालेमा पूरानै प्रचार शैली देखियो ।
नेताका पक्षमा भोट माग्न पर्चा पम्प्लेट र भिजिटिङ कार्ड प्रयोग गरिँदा भृकुटीमण्डप नै यस्ता सामग्रीले भरिए । यसबाहेक एमालेको निर्वाचनमा मतदाता आकर्षित गर्न सामाजिक सञ्जाल, फेसबुक, म्यासेन्जर, ट्विटरको पनि व्यापक प्रयोगमा ल्याइएका थिए ।