
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार मुनकर्मीविरूद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले मुनकर्मीविरूद्ध करिब साढे २ करोड रूपैयाँ बिगो कायम गरी, त्यसअनुसार जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्तिबाट बढेको रकम जफत गर्नसमेत माग गरेको छ ।
अख्तियारले पोखरा विमानस्थल बनाउन भएको ठेक्का सम्झौतासम्मको ‘भ्रष्टाचार’ मा पाँच पूर्वमन्त्री र नाै पूर्वसचिवसहित ५६ जना विरूद्ध मुद्दा दायर गरिसकेको छ । विमानस्थल निर्माणमा कम्तिमा १० अर्ब रूपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । अख्तियारले निर्माणमा भएको यही हिनामिनामाथि अनुसन्धान थालेको हो ।