म हिंसात्मक व्यक्ति होइन तर कुनै पनि नेतालाई चेतावनी दिन तयार छु : सुधन गुरूङ

मंसिर २९, २०८२ |रुपेश श्रेष्ठ
म हिंसात्मक व्यक्ति होइन तर कुनै पनि नेतालाई चेतावनी दिन तयार छु : सुधन गुरूङ

काठमाडौं । जेन-जी आन्दोलनका अगुवामध्ये एक सुधन गुरूङले आफू हिंसात्मक व्यक्ति नभएको स्पष्ट गर्दै अहिलेसम्म कुनै पनि नेतालाई नपिटेको दाबी गर्नुभएकाे छ।

कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा कुराकानी गर्दै गुरूङले ‘लड्ने’ भन्नाले प्रतिस्पर्धा गर्ने अर्थमा बुझ्नुपर्ने बताउनुभयाे । आफूलाई देख्नेबित्तिकै मुक्कामुक्कीको छवि बनाइने गरेको भन्दै उहाँले भन्नुभयाे, “मलाई देख्नेबित्तिकै मुक्कामुक्कीको कुरा आउँछ । म त्यस्तो मान्छे होइन। तर जस्तोसुकै भ्रष्ट नेतालाई पनि चेतावनी दिन म तयार छु।”

उहाँले आफूहरूलाई कमजोर पार्न नेताहरू जुनसुकै हदसम्म जान सक्ने आरोप पनि लगाउनुभयाे । बाराको सिमरास्थित एमाले नेता किसान श्रेष्ठको घरमा गएर धम्क्याएको आरोपबारे स्पष्टिकरण दिँदै गुरूङले गाउँलेलाई त्रसित बनाउने गतिविधि भएको बताउनुभयाे । ‘उहाँहरूले गाउँलेहरूलाई त्रसित बनाउनुभएको रहेछ । चुन चुनकर मारुँगा भनेर भिडियो निकाल्नुभएको रहेछ । घर-घरमा मान्छे पठाएर थर्काउनुभएको रहेछ । यस्तो नगर्नुस् भनेर भन्न नपाउने हाम्ले ?’ उहाँले भन्नुभयाे ।

कार्यक्रममै गुरूङले संविधान संशोधनका लागि संसद् पुन:स्थापना गर्न सकिने विषयमा पनि धारणा राख्नुभयाे । “संसद् ब्युँताएर हाम्रो एजेन्डा पास गर्ने, चुनावको मिति घोषणा गर्ने र त्यसपछि संसद् विघटन गरेर नागरिकको सरकार बनाउने पक्षमा हामी छौं,” उहाँले भन्नुभयाे। यो अन्तिम विकल्प भएको उल्लेख गर्दै उहाँले दलका नेताहरूमा विश्वास नभएको र प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा जेन-जी समूहलाई ७० प्रतिशत हिस्सा दिनुपर्ने माग समेत गर्नुभयाे।

संविधान संशोधनका विषयमा पहिल्यै सहमति गरेर अघि बढ्न सकिने धारणा राख्दै गुरूङले राजनीतिक दलहरूबाट निस्वार्थ नेता आवश्यक रहेको बताउनुभयाे। “हामीलाई हातमा रगत र पैसा लागेको नेता होइन, इमानदार नेता चाहिएको हो,” उहाँले भन्नुभयाे।

साम, दाम, दण्ड र भेद प्रयोग गरेर सत्तामा पुग्ने दलका नेताहरूसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने प्रश्न उठाउँदै उहाँले तीन महिनाको समय चुनावका लागि पर्याप्त नहुने दाबी पनि गर्नुभयाे । “३६ वर्षमा बनाइएको दलहरूको संयन्त्र ढाल्न तीन महिना पर्याप्त हुन्छ र ?” गुरूङले प्रश्न गर्नुभयाे ।

सुधन गुरूङसँगको पूरा अन्तर्वार्ता मंगलबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ। कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानलका साथै कान्तिपुर टिभी एपमा पनि हेर्न सकिन्छ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका निमित्त समाचार प्रमुख हुन् ।