चुनाव हुँदैन भनेर अफवाह फैलाउनु न्यायोचित नहुने गृहमन्त्री अर्यालकाे भनाइ

मंसिर २९, २०८२ |भुपाल गुरुङ
चुनाव हुँदैन भनेर अफवाह फैलाउनु न्यायोचित नहुने गृहमन्त्री अर्यालकाे भनाइ

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकारको प्रमुख कार्यभार नै निर्वाचन गराउनु भएकोले निर्वाचनबाट भाग्ने र चुनाव हुँदैन भनेर अफवाह फैलाउनु न्यायोचित नहुने बताउनुभएको छ ।

पोखरा लेकसाइडस्थित होटल माउन्ड कैलाशमा गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको निर्माण नै निर्वाचनबाट निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने उद्देश्यले रहेकाे भन्दै सरकार चुनाव गर्न दृढ रहेको र निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न दृढ भएर लागेको बताउनुभयो । 

दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दी निर्वाचनका लागि प्रमुख सुरक्षा चुनौती औँल्याएको भन्दै त्यसलाई समाधान गर्न सरकार जिम्मेवार भएर लाग्ने उहाँले बताउनु भयो । फरार कैदीबन्दीमध्ये ७० प्रतिशत फिर्ता आइसकेका र बाँकी कैदीबन्दीको खोजी भएको र प्रहरीका खोसीएका हतियार पनि आउने क्रममा रहेका उहाँको भनाइ छ ।

बैठकको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनपश्चात् सुरक्षा निकायको मनोबल र जनविश्वास घटेको भन्दै त्यसलाई उकासे मात्र चुनावको वातारण बन्ने बताउनुभयो। मुख्यमन्त्री पाण्डेले अन्तर सरकार सम्बन्धमा मात्रै निर्वाचनको वातावरण बन्ने भन्दै तीनै तहका सरकारबीच सम्बन्ध कायम गरेर सुरक्षा चुनौती हटाए मात्रै निर्वाचन हुने उहाँले बताउनुभयो ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा प्रमुख, प्रदेशका ११ जिल्ला र प्रदेशका सुरक्षा निकाय प्रमुखहरूको सहभागिता रहेको छ । बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौती र समाधनको उपायबारे छलफल भइरहेको छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।