भोजपुर बजारमा निर्माणाधीन ढल आयोजनाको तीनपटक म्याद थप

सास्ती झेलिरहे पनि काम सक्न छैन स्थानीयको दबाब
मंसिर २८, २०८२ |अर्जुन बस्नेत
भोजपुर बजारमा निर्माणाधीन ढल आयोजनाको तीनपटक म्याद थप

भोजपुर । भोजपुरमा निर्माण भइरहेको ढल आयोजना पटक-पटक म्याद थप गर्दा पनि सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । 

जताततै सडक भत्काउने तर समयमा परियोजना बन्न नसक्दा स्थानीयलाई सास्ती खेप्नुपरेको हो । भोजपुर बजारमा निर्माण भइरहेको ढल परियोजना तीनपटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेकको छैन । संघीय सरकारको ८५ र भोजपुर नगरपालिकाको १५ प्रतिशत लागत साझेदारीमा जेवाइईसीएल-बीडीटीएनएस जेभीले ५० करोड ३१ लाख रूपैयाँमा २०८१ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । 

२०७९ असार २९ गते सम्झौता गरी काम सुरू गरेको योजना तीनपटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । समयमा काम सम्पन्न नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ । ढल निर्माणका लागि पुरानो बसपार्क हुँदै हेलीडाँडा, पुरानो बसपार्कबाट सात धारा हुँदै बजार र नगरपालिकाबाट कोदार जाने बाटो एकैपटक भत्काइयो । तर काम भने कछुवा गतिमा छ । 

बाटो भत्काएर बनाउन महिनौं लगाउँदा बिरामीलाई लामो बाटो देउराली पानीट्याङकी, चारभञ्ज्याङ हुँदै अस्पताल लानुपर्ने बाध्यता छ । सरोकारवाला पक्षले बारम्बार ताकेता गरे पछि ठेकेदारले बल्ल केही काम गरेजस्तो गरिरहेको छ ।

अहिलेसम्म ढल निर्माणको भौतिक प्रगति ८० र आर्थिक प्रगति ६५ प्रतिशत भएको कम्पनीले जनाएको छ । उक्त योजनामा साढे ६ हजार मिटरमा पाइपलाइनमा ५५ सय मिटर र साढे ६ किलोमिटर सडकको काममा १ किलोमिटर बाँकी छ । यस्तै ३ वटा ट्रिटमेन्ट प्लान्टको काम भने ९० प्रतिशत सम्पन्न भएको छ । 

यही गतिमा काम भएमा अझै ३ देखि ४ महिना लाग्ने ईन्जिनियरको भनाइ छ । समयमा ठेकेदार कम्पनीले कामदारको संख्या बढाइ काम गर्न नसक्नु, सरोकारवाला निकायले ताकेता नगर्नु र सास्ती भोगिरहेका पनि स्थानीयले काम सक्न दबाब दिनतर्फ कुनै चासो नदेखाउनुले ढिलाइ भएको हो ।


Image

अर्जुन बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजन भोजपुर संवाददाता हुन् ।