
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउनुभएको छ ।
१९औँ संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि संसद् सेवाका कर्मचारीहरूको भुमिका महत्वपूर्ण हुने समेत स्पष्ट पार्नुभयो ।
उहाँले कानुनहरू स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा संघीय संसद्को सुझाव अति उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री सिन्हाले कानुन निर्माण गर्ने संघीय संसद्को कामलाई प्रभावकारी बनाउने काममा त्यहाँ कर्मचारीहरूको योगदान उल्लेख्य हुने पनि बताउनु भयो ।
मन्त्री सिन्हाले संघीय संसद्को कामलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षले विशेष भुमिका निर्वाह गर्न आवश्यक रहेको समेत बताउनु भयो ।