
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता दिन रोक्न नहुने बताउनुभएको छ ।
११औँ महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणाबारे बुधबार काठमाडौंमा सम्पादकहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको उहाँको भनाइ छ । उहाँले विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेन्डाको रूपमा उठाउन पर्ने विषय नै नरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विद्याजीको सदस्यताको बारेमा हाम्रो बुझाइ के हो, मत के हो भने राज्यको संविधानले रोक्दैन भने, पार्टीको विधानले रोक्दैन भने, अन्तराष्ट्रिय प्राक्टिसले रोक्दैन भने, व्यक्तिको चाहना छ भने किन नपाउने ? पाउनुपर्छ । यो चिज हुँदैन भन्ने कुरा गलत हो भन्ने हामीले पार्टीभित्र राख्दै राख्दै आयौँ । अहिले पनि त्यो चिजलाई हामीले आफ्नो अवधारणामा राखेका छौँ । यसको अर्थ भोलि के हुन्छ, त म यहाँहरूलाई भन्न चाहन्छु केन्द्रले निर्णय गरेपनि यो एजेन्डा यो हाइटमा उठाउन पर्ने विषय नै थिएन । तर अब यो एजेन्डा आउने दिनको लागि पनि ओपन भयो, ओपन छ, ओपन रहेनछ ।’
उहाँले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीका बारेमा आफूले पश्न उठाउँदै आएको पनि बताउनु भयो । पार्टीभित्र जबजको बारेमा कुनै मतभिन्नता नरहेको भए पनि कार्यशैलीभित्र भने व्यापक मत भिन्नता रहेको उहाँले बताउनु भयो ।