
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिलेको परिस्थितिमा अध्यक्ष केपी ओलीले बाहेक अर्को नेताले पार्टीको नेतृत्व गर्न नसक्ने दाबी गर्नुभएको छ।
देशको परिवर्तित राजनीतिक परिस्थितिमा अनुभवी र बलियो नेतृत्व आवश्यक पर्नेमा जोड दिँदै उहाँले पार्टी अध्यक्षमा ओलीलाई नै निरन्तरा दिनुपर्ने बताउनुभयो। कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’को अतिरिक्त अंकमा कुराकानी गर्दै महासचिव पोखरेलले हाल पार्टी र देशमा उठेका चुनौतीको सामना गर्नका लागि ओलीबाहेकको नेतृत्वले गर्न नसक्ने जिकिर गर्नुभयो।
आफ्नो नाम वा अध्यक्ष ओलीबाहेकको नाममा सहमति गर्न सकिने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको प्रस्तावका विषयमा महाधिवेशनको हलले नै निर्णय गर्ने महासचिव पोखरेलको जवाफ छ। अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले सोमबारको ‘फायरसाइड’मा अध्यक्ष ओलीले नेतृत्व छोड्ने र अर्को व्यक्तिलाई अध्यक्षमा प्रस्ताव गरे सहमति हुन सक्ने बताउनुभएको थियो।
महासचिव पोखरेलले केन्द्रीय कमिटिमा धेरै युवाहरूलाई स्थान दिनका लागि पुरानै विधानलाई निरन्तरता दिन सकिने सम्भावनाका बारेमा छलफल चलिरहेको जानकारी दिनुभयो। एमालेको भदौमा सम्पन्न विधान अधिवेशनले पार्टीको सचिवालयदेखि केन्द्रीय समितिसम्मको आकार घटाउने गरी विधान संशोधन गरेको थियो।
महासचिव पोखरेलसँगको पूरा अन्तर्वार्ता मंगलबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ। कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानलका साथै कान्तिपुर टिभी एपमा पनि हेर्न सकिन्छ।