निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार गर्नुभएको शिष्टाचार भेटमा उहाँले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आउनुभएको हो । भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्‌बाट क्षति भएका संरचनाको पुन:स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । 

अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिनुभयो । सो क्रममा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा-चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गर्नुभयो । सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैधवस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.