
भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित विपि नेत्र प्रतिष्ठान तथा पुनर्स्थापना केन्द्रले स्थापनाको १३ वर्षमा १९ लाख भन्दा बढी बिरामीको उपचार गरेको छ । बुधबार १३औं वार्षिकोत्सव मनाउँदै प्रतिष्ठानले आफ्नो सेवालाई थप विस्तार गर्ने जनाएको छ ।
१३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्याक्रममा संस्थाका महासचिव राजन बहादुर राउतले १३ वर्ष अघिदेखि आँखा, नाक, कान र घाँटीसम्बन्धी स्तरिय उपचारको सेवा दिँदै आएको बताउनुभयो । प्रतिष्ठानले आँखा नदेख्ने तथा कान नसुन्ने बालबालिकाहरूलाई नि:शुल्क शिक्षासमेत दिँदै आएको छ ।
महासचिव राउतका अनुसार हालसम्म करिब पाँच सय विद्यार्थीहरूले यस प्रतिष्ठानबाट शिक्षा लिएका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष गौरीशंकर लाल दासले विपि नेत्र प्रतिष्ठानले स्तरिय उपचार सेवालाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा आँखा, नाक, कान र घाँटीलगायत अन्य सेवाहरू गरी करिब १ लाख ४८ हजार भन्दा बिरामीलाई सेवा दिएको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष मदनप्रसाद उपाध्यायले अस्पतालले ७७ जिल्लाका बिरामीलाई सेवा दिएको बताउनुभयो । उहाँले देशभर अझै ४० प्रतिशत आँखाका बिरामीहरू उपचारको पहुँच भन्दा बाहिर रहेकोमा चिन्ता पनि व्यक्त गर्नुभयो । प्रतिष्ठानले त्रिभुवन विश्व विद्यायलसँग मिलेर आँखाका विशेषज्ञ चिकित्सकहरूलाई पढाउँदै आएको पनि छ ।
प्रतिष्ठानले १३ वार्षिकोत्सव साताव्यापी रुपमा रक्तदान, आँखा शिविर तथा विभिन्न खेलकुद प्रतियोगिता गरी मनाएको छ ।