
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह एक लाख रूपैयाँ घुससहित रंगेहात पक्राउ परेको मुद्दाको पेसी स्थगित भएकाे छ ।
काठमाडौंस्थित विशेष अदालतमा सोमबारका लागि तोकिएको पेसी स्थगित भएको हो । अदालतका अनुसार, साेमबार यो मुद्दा सुनुवाइका लागि दुई नम्बर इजलासमा परेको थियो । तर, प्रतिवादीको निजी र सरकारी वकिलकै माग बमोजिम पेसी स्थगित भएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताउनुभयाे ।
सरकारी वकिलले भने प्राविधिक कारणले गर्दा पेसी स्थगित गरेको दाबी गरेको छ । विशेष सरकारी वकिलको कार्यालयकी सूचना अधिकारी सरिता पोखरेलले भन्नुभयाे, 'टेक्निकल कारणले गर्दा पेसी स्थगित गर्नुपरेको हो ।' यो मुद्दा यसअघि मंसिर ३ मा पनि सुनुवाइका लागि पेसी चढेको थियो । तर, प्रतिवादीको निजी वकिलको मागमा पेसी सरेको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले साहलाई गत असार ३२ गते वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भइ भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग एक लाख रूपैयाँ घुस लिएको अवस्थामा रंगेहात कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानपछि साहले भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस स्वरूप लिएको पुष्टि भएको आरोपसहित अख्तियारले गत साउन २३ मा उनीमाथि विशेष अदालतमा घुस रिसवत लिइ भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो । आयोगले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद माग दाबी गरेको छ ।