महिलाहरूको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री कार्की

मंसिर ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
महिलाहरूको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसाविरूद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री कार्कीले महिलाहरूलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताउनु भयो । 

उहाँले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरू कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गर्नुभयो । प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरूलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पार्नुभयो । आफू सरकारमा आएको करिब दुई महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरूलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उहाँको दाबी थियो । 

प्रधानमन्त्री कार्कीले महिलाहरूको उपदेयता हुने ठाउँमा उनीहरूलाई नियुक्त गरेर अघि बढने बताउनु भयो । उहाँले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्ने समेत बताउनु भयो । साे अवसरमा प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यका लागि गरिबी निवारण र समाजलाई जगाउने कुरालाई निरन्तर अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.