नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

नवनियुक्त मुख्यसचिव अर्यालले ८ महिनासम्म कर्मचारी प्रशासनको नेतृत्व गर्ने
मंसिर ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले रक्षा सचिव अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । २०५३ सालमा निजामती सेवाको अधिकृतबाट सेवा प्रवेश गरेका अर्याल २०७७ सालमा सचिवमा बढुवा हुनुभएको थियो । उहाँले गत असोजदेखि रक्षा मन्त्रालयको सचिवका रूपमा काम गर्दै आउनुभएको थियो । 

सचिवमा बढुवा भएपछि अर्यालले कोशी प्रदेशको प्रमुख सचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा काम गर्नुभएको थियो ।

मुख्यसचिव एकनारायण अर्यालले ५८ वर्ष उमेर हदका कारण मंगलबारदेखि सेवानिवृत हुने भएसँगै सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । उहाँले आगामी ८ महिना मात्रै कर्मचारी प्रशासनको नेतृत्व लिनुहुने छ । ५८ वर्ष उमेरहदका कारण २०८३ साल असार २६ गते उहाँ सेवानिवृत्त हुनुहुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.