
काठमाडौं । भगवान राम र जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत सोमबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ ।
मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरू जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगि विवाहको वेदी बनाउनका लागि माटो ल्याएका छन् । महिलाहरूले माटो बोकेर नगर परिक्रमा समेत गरेका छन् । मटकोरको क्रममा गंगासागरको डीलमा भजनकीर्तनको कार्यक्रम समेत राखिएको थियो ।
जानकीको प्रतिकको रूपमा रहेकी बालिकालाई लिएर बाजागाजासहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर पुग्नुभएको थियो । वैदिक मन्त्र उच्चारण गरी विधिपुर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ ।
जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम सम्पन्न भएको हो । मंगलबार स्वयम्बर तथा विवाहोत्सव र बुधबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।