पाँचखाल प्रकरण : निरन्तर छलफलपछि जट्याे सहमति, वार्ता सुरू हुनासाथ राजमार्ग खुला

शव पोष्टमार्टम गरी बुझाइयो
मंसिर ५, २०८२ |पुजन धिताल
पाँचखाल प्रकरण : निरन्तर छलफलपछि जट्याे सहमति, वार्ता सुरू हुनासाथ राजमार्ग खुला

काभ्रे । काभ्रे पाँचखालमा बसको ठक्करबाट दिल बहादुर श्रेष्ठको मृत्यु प्रकरणमा उत्पन्न तनाव शुक्रबार साँझ सहमतिसँगै अन्त्य भएको छ । 

दिनभर अवरूद्ध रहेको यातायात पनि सहमति प्रक्रियासँगै सामान्य बन्दै गएको छ । बिहिबार साँझ केही सवारी साधनलाई मात्र चल्न दिइएको भए पनि पूर्व-अरनिको यातायातका बसहरू रोकिएका थिए । शुक्रबार बिहान सहमति नजुटेपछि पुनः राजमार्ग पूर्णरूपमा बन्द गरिएको थियो ।

तर आफन्त वार्तामा बस्न तयार भएपछि वार्ता सुरू हुनासाथ राजमार्ग तुरून्तै खोलिएको प्रहरी स्रोतले जनाएको छ । राजमार्ग खुल्दै यात्रुहरूको आवागमन सहज भएको छ । काभ्रे प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी रविन विष्टका अनुसार, मृतकका आफन्त, स्थानीय प्रतिनिधि र यातायात व्यवसायीबीच शुक्रबार साँझसम्म निरन्तर छलफल चलेपछि सहमति जुटेको हो । सहमति भएसँगै शवको पोष्टमार्टम गरी परिवारलाई बुझाइएको उहाँले जानकारी दिनुभयाे ।

स्थानीय राजन कार्कीका अनुसार, सहमतिको कागजातमा मृतक परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने, आगामी दिनमा सडक सुरक्षामा विशेष ध्यान दिने, दुर्घटना दोहोरिन नदिन यातायात व्यवसायीले थप जिम्मेवारी लिनुपर्ने जस्ता मुख्य बुँदाहरू समावेश गरिएको छ ।

सहमतिपश्चात पाँचखाल क्षेत्रमा स्थिति सामान्य बन्दै गएको र यातायात पूर्णरूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।