
काठमाडौं । चिसो मौसम सुरु भइसकेको छ । यससँगै चिसोसँग सम्वन्धित स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी पनि बढ्न थालेका छन् । चिसो अझै बढ्ने भएकाले बिरामीको संख्या पनि बढ्न सक्ने चिकित्सकहरुको अनुमान छ । तसर्थ यो मौसममा स्वास्थ्यको ख्याल राख्नसमेत उनीहरुले सुझाएका छन् ।
चिसो सुरु भएसँगै चिसोसँग सम्वन्धित स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने विरामीको संख्या करिब २० प्रतिशतसम्म बढेको छ । बिरामीहरुमा धेरैजसो रुघाखोकी, निमोनिया, ज्वरो, दम, श्वासप्रश्वासलगायतका समस्या देखिने गरेका छन् । कतिपयलाई त भर्ना नै पनि गर्नु परेको छ । चिसो अझै बढ्ने भएकाले विरामीको संख्या पनि बढ्न सक्ने चिकित्सकहरुको अनुमान छ । उनीहरुका अनुसार बालबालिका, जेष्ठ नागरिक, दीर्घ रोगी तथा रोग प्रतिरोधी क्षमता कम भएकाहरुलाई चिसोमा स्वास्थ्य समस्या बढी देखिने गरेको छ । वीर अस्पतालमा मात्रै अहिले चिसोको समस्या लिएर आउने जेष्ठ नागरिकको संख्या दोब्बर भइसकेको छ अस्पतालका जेरियाट्रिसियन डा उमेश बोगटी बताउनुहुन्छ ।
चिसो मौसममा स्वास्थ्य समस्या बढी देखिने हुँदा आफ्नो स्वास्थ्यको ख्याल राख्न चिकित्सकहरुले सुझाएका छन् । त्यसका लागि न्यानो भएर बस्ने, तातो तथा झोलिलो पदार्थको बढी सेवन गर्ने तथा यो मौसममा अरुलाई संक्रमण सर्न सक्ने भएकाले मास्कको प्रयोग गर्नसमेत चिकित्सकहरुको आग्रह छ । त्यति गर्दा पनि सन्चो भएन भने तुरुन्त अस्पताल जानुपर्ने टेकु अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालिसे बताउनुहुन्छ ।
चिसोका बेला खासगरी बालबालिका तथा ज्येष्ठ नागरिक स्वास्थ्य समस्याको बढी जोखिममा हुन्छन् । त्यसैले यो मौसममा स्वास्थ्यको ख्याल गर्न चिकित्सकको सुझाव छ ।