मधेसमा प्रतिनिधित्व गर्ने सात दलद्वारा मंसिर ३ गते प्रदेश सभा बैठक आह्वान

मंसिर २, २०८२ |अनिल मिश्र
मधेसमा प्रतिनिधित्व गर्ने सात दलद्वारा मंसिर ३ गते प्रदेश सभा बैठक आह्वान

जनकपुर । मधेसको प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी सात राजनीतिक दलको गठबन्धनले मंसिर ३ गते प्रदेशसभा बैठक आह्वान गरेको छ ।

सभामुख रामचन्द्र मण्डलविरूद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समयमा विपक्षी दलका प्रदेशसभा सदस्यहरूको टोलीले उपसभामुखलाई भेटेर प्रदेश सभाको बैठका आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउतसमक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधबार आह्वान गर्न माग गर्नुभयो । 

उहाँसँगै जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव, कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव, जनमत पार्टीको संसदीय दलको नेता महेश यादवसहितको उपस्थिति रहेको थियो । प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरूद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउने उद्देश्यका साथ ३२ जना प्रदेशसभा सदस्यहरूले प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिनुभयो । 

उहाँले सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउनका लागि आफूहरूले प्रदेशसभा बैठक बोलाउन माग गरेको बताउनु भयो । प्रदेशसभा बैठक आह्वान गर्ने माग मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकिकृत समाजवादी पार्टी, माओवादी केन्द्र रहेका छन् । 

तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले कातिक २२ गते विश्वास मत लिनका लागि बसेको प्रदेशसभा बैठक स्थगित भएदेखि अहिलेसम्म बस्न सकेको छैन । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।