काठमाडौं । २०७९ को आमनिर्वाचनबाट वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी चार वर्ष नबित्दै आफ्नै नेता व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेको छ ।
फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा यही वैकल्पिक शक्तिकै नेताहरू विकल्प खोजेर वा नयाँ पार्टी निर्माण गर्ने भन्दै बाहिरिन थालेका छन् । जसले गर्दा पार्टी थप संकटमा पर्न थालेको छ । छाड्ने नेताहरूको आरोप छ-पार्टी व्यक्ति केन्द्रित भयो । स्थापनायताका ४० महिनामा रास्वपा आन्तरिक झमेला, कानुनी अड्चन र विवादमै रूमल्लिँदै आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले फरक किसिमको अभियानका साथ अघि बढ्ने भन्दै कात्तिक २८ गते पार्टी परित्याग गर्नुभयो । उहाँको आरोप छ- रास्वपाले नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टी र विचार निर्माण गर्न सकेन ।
परियारको स्वीकारोक्ति छ- निरन्तर बिचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न सकिएन । पार्टी व्यक्ति केन्द्रित भएको, नीति- विधिभन्दा बाहिर गएर परम्परागत शक्ति जसरी चल्न खोजेको आरोप लगाउँदै परियार रास्वपाबाट अलग हुनुभयो ।रास्वपा छाडेका परियार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र प्रगतिशील राष्ट्रिय अभियानको घोषणा गरेका जनार्दन शर्मासँग एकता गर्ने हुनुभएको छ । मंसिर ७ गते एकता सभा कार्यक्रम तय भएको छ ।
पूर्वमन्त्री सुमना श्रेष्ठले पनि गत भदौ २९ गते नै रास्वपा छाड्नु भएको थियो । उहाँको पनि आरोप थियो- पार्टी व्यक्ति केन्द्रित भयो । केन्द्रीयदेखि तल्लो तहसम्मै रास्वपा छाड्नेको लहर छ । पार्टीभित्रै पनि नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न उठ्ने गरेको छ । केन्द्रीय सदस्य गणेश कार्कीले सामूहिक प्रयास र सामूहिक निर्णयको अभ्यास नगरे प्रत्यक्षतर्फ चुनाव जितेकाहरूले पनि पार्टी छाड्ने संकेत सामाजिक सञ्जालमार्फत गर्नु भएको छ ।
एकातिर बिचार मिल्नेहरूसँग पार्टी एकता गर्न उच्चस्तरीय वार्ता समिति नै बनाएर छलफल भइरहेको छ भने अर्कोतिर आफ्नै सहकर्मीले धमाधम पार्टी छाड्ने क्रम बढेसँगै रास्वपालाई नैतिक चुनौती बढेको छ । रास्वपा नेतृत्वले भने पार्टी छाड्नु र भित्रिनुलाई सामान्य प्रक्रियाको रूपमा लिएको छ ।
पार्टी स्थापनाको ४० महिनासम्ममा रास्वपा नैतिक, कानुनी र व्यवहारिक झमेलाबाट गुज्रिरहेको छ । २०७९ को निर्वाचनको ठीक ६ महिनाअघि खुलेको पार्टीले रास्वपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकमा करिब १२ लाख मत ल्याउँदै कुल २१ सांसद संसदमा पुर्यायो । तर, नीति प्रष्ट नहुँदा, विचारमा एकरूपता नहुँदा र थिति बसाउन नसक्दा बीचबाटोमै पार्टीबाट बाहिरिनेहरू बढ्न थालेका छन् । तर, नेताहरू किन धमाधम बाहरिँदैछन् भन्ने विषयलाई पार्टीले गम्भीर भएर समीक्षा भने गरेको देखिँदैन ।