एनपीएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सकाे तयारी तिव्र

कार्तिक २५, २०८२ |भुवन पाण्डे
एनपीएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सकाे तयारी तिव्र

रूपन्देही । नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करण सुरू हुन एक साताभन्दा कम समय बाँकी रहँदा अन्य टोली जस्तै लुम्बिनी लायन्सले पनि घरेलु मैदान एक्स्ट्रा टेक ओभलमा आफ्नो अन्तिम तयारीलाई तिव्रता दिइरहेको छ । 

गत सिजन कप्तान रोहित पौडेलको सानदार प्रदर्शनका बीच पनि मात्र एक जितसहित पुछारमा रहेर लिग समाप्त गरेको लुम्बिनीले यस पटक भने उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । फ्लडलाइटमा समेत अभ्यास गरिरहेको लुम्बिनी नयाँ रणनीति र योजनासहित टिमलाई सशक्त बनाउन लागेको हो ।

लुम्बिनी लायन्समा अहिले एक जना विदेशीसहित १२ जना खेलाडी छन् । कप्तान रोहित पौडेलसहित सन्दिप जोरा, विवेक यादव, तिलक भण्डारी, अभिषेश गौतम, दिनेश अधिकारी, दुर्गेश गुप्ता, आदिल खान, विशाल पटेल, शेर मल्ल र दिलिप नाथ टीममा छन् । त्यस्तै विदेशी खेलाडीमा अष्ट्रेलियन क्रिकेट खेलाडी डार्सी शर्ट छन् । अन्य खेलाडीहरूलाई पनि लुम्बिनी लायन्सले आबद्ध गर्दै छ ।

लुम्बिनी लायन्सले एनपीएलको पहिलो सिजनमा सात खेलमा मात्र एक खेलमा जित निकालेको थियो । पोइन्ट टेवलमा लुम्बिनी लायन्स पुछारमा थियो । पछिल्लो सिजनमा खस्केको प्रदर्शनलाई लयमा ल्याउन पनि टीमलाई यस पटक दबाब छ । त्यसैले त दुई सातादेखि लुम्बिनी लायन्सका खेलाडीले क्याम्पमा कडा मिहिनेत गरिरहेका छन् ।

एनपीएल दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले मुख्य प्रशिक्षकका रूपमा भारतीय पूर्वक्रिकेटर टीनू योहान्नलाई नियुक्त गरेको छ । कन्सल्ट्यान्ट कोचका रूपमा शक्ति गौचन र सुवास खकुरेल छन् । प्रशिक्षकहरू यतिबेला नयाँ रणनीति र योजनासहित टीमलाई सशक्त बनाउन कस्सिएका छन् ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।