पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउनु हुँदैनः प्रधानमन्त्री कार्की

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउनु हुँदैनः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने बताउनुभएको छ ।

कोषको साेमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताउनुभएको हो । कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानूनी व्यवस्था छ ।

उहाँले बैठकमा भन्नुभयो, ‘धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरू हुन्छन्। परम्पगत मान्यता र रीतिथितिहरू हुन्छन्। ती हाम्रा मौलिक संस्कृति हुन्। यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ। संसारभरिका हिन्दुको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ। यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो। पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन। दलीय कार्यकर्ताको भर्ती केन्द्र बनाउनु हुँदैन। यहाँ काम गर्ने मान्छे धार्मिक नै हुनुपर्छ। धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउनुपर्दैन। यहाँ धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्छ।’

प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उहाँले बैठकको अध्यक्षता गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.