
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन कटिबद्ध रहेको बताउनुभएको छ ।
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री गौतमले सरकारको मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै त्यसलाई समयमा सम्पन्न गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लागि पर्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।
नेपाल सरकार शान्ति सुरक्षाको प्रवन्ध गरेर निर्वाचन समयमा होस् भन्नेमा कटिबद्ध रहेको मन्त्री गौतमको भनाइ थियो । उहाँले निर्वाचन समयमा नै सम्पन्न हुन्छ भनेर आम मतादातालाई आश्वस्त पार्ने काममा केन्द्रित हुन पनि सबै पक्षलाई अनुरोध गर्नुभयो ।
मन्त्री गौतमले वर्तमान सरकारले जेन-जी आन्दोलनले दिएको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताउनु भयो । उहाँले आधारभुत अस्पताल, स्वास्थ्य चौकीलगायतका स्वास्थ्य सेवा संस्थाहरूमा निःशुल्क रूपमा उपलब्ध गराइएको औषधिहरूको वितरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन पनि स्थानीय सरकारलाई सचेत गराउनु भयो ।
त्यस अवसरमा उहाँले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्ने आश्वासन समेत दिनुभयो । मन्त्री गौतमले निःशुल्क रूपमा उपलब्ध गराइएको सो औषधि स्थानीय सरकारले उपलब्ध गराउने काममा ढिलाइ गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।
मन्त्री गौतमले सरकारले स्थानीय सरकारले जनतामा गुनासो नआउने गरी आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि संघीय सरकारले शसर्त अनुदानको व्यवस्था गरेको पनि स्मरण गराउनु भयो ।