जेन-जी आन्दोलनमा भएको क्षतिसम्बन्धी छानबिन गर्न प्रहरी प्रधान कार्यालयको आन्तरिक समिति गठन

एआईजी सुशीलसिंह राठौर नेतृत्वको समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन
कार्तिक १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनमा भएको क्षतिसम्बन्धी छानबिन गर्न प्रहरी प्रधान कार्यालयको आन्तरिक समिति गठन

काठमाडौं । गत भदौ २३ गते जेन-जी पुस्ताको अगुवाइमा भएको शान्तिपूर्ण आन्दोलन र भोलिपल्टको विध्वंसमा भएको जनधनको क्षतिसम्बन्धी छानबिन गर्न प्रहरी प्रधान कार्यालयले आन्तरिक समिति गठन गरेको छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अपराध अनुसन्धान विभागका प्रमुखसमेत रहेका अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरको नेतृत्वमा समिति गठन गर्नुभएको हो । समितिलाई शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा/विद्यार्थीमाथि २३ भदौमा प्रहरीबाट भएको बल प्रयोग, मानवीय क्षति, बल प्रयोगमा भएका कमजोरी तथा भोलिपल्टको विध्वंसबारे विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।

राठौरको नेतृत्वमा गठित समितिमा योजना तथा अन्वेषण निर्देशनालयका डीआइजी दीपक रेग्मीसहित कार्य विभाग, मानव स्रोत विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, विधि विज्ञान प्रयोगशालालगायत युनिटबाट प्रतिनिधित्व गराइएको छ । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

प्रहरीले फिल्डमा खटिँदा प्रयोग गर्ने हातहतियार, परिचालन रणनीति, आन्दोलन/प्रदर्शनमा प्रयोग हुने घातक/गैरघातक हतियार प्रयोग, सुरक्षा समन्वयलगायत विषयमा पनि सुझाव दिने गरी प्रतिवेदन पेस गर्न भनिएको छ । सरकारले यसअघि नै जेन-जी आन्दोलन र भोलिपल्टको विध्वंसको जाँचबुझ गरी दोषीमाथि कारबाही गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिसकेको छ । 

आयोगले अहिले जाँचबुझको काम जारी राखेको छ । यता, प्रहरीले पनि घटनाको डेढ महिनापछि आन्तरिक छानबिन समिति गठन गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.