कर्मचारी अभावले वडाध्यक्ष स्वयं दर्ताचलानीमा-त्रियुगा नगरपालिका वडा १२ मा जनसेवा प्रभावित

कार्तिक १२, २०८२ |भोटराज राई
कर्मचारी अभावले वडाध्यक्ष स्वयं दर्ताचलानीमा-त्रियुगा नगरपालिका वडा १२ मा जनसेवा प्रभावित

उदयपुर । सरकारको निर्देशनबमोजिम पालिकाहरूले तोकिएको दरबन्दीबाहेकका अस्थायी तथा करारका कर्मचारी हटाउन थालेका छन् । 

तर यसोगर्दा वडातहमा कर्मचारी अभाव खड्किएको छ। उदयपुरको त्रियुगा नगरपालिकामा त वडाध्यक्ष आफै वडासचिवको काम गर्नुपर्ने बाध्यतामा परेका छन् । उदयपुरको त्रियुगा गरपालिका वडा नम्बर १२ मा कर्मचारी अभाव हुँदा वडाध्यक्ष आफै दर्ताचलानीमा खटिनु परेको छ। कम्प्युटर चलाउन जान्ने नहुँदा नयाँ नागरिकता सिफारिस, राजस्व संकलन जस्ता जनताको महत्वपूर्ण काम रोकिएको छ ।

वडामा खटिएका चार कर्मचारी मध्ये एक सफाइकर्मी र वडासचिव मात्र स्थायी हुन् । दर्ता चलानीका कार्यालय सहयोगी र कम्प्युटर अपरेटर करारका थिए । सफाइकर्मीले दर्ताचलानीको काम गर्न सक्दैनन्, हाल विरामी विदामा रहेका वडासचिवसँग पनि कम्प्युटर चलाउने सीप छैन ।

सेवाग्राहीलाई रित्तोहात फर्काउन नहुने भएपछि वडाध्यक्ष आफै निवेदनमा तोक लगाउँदै आफै दर्ताचलानीमा खटिएका छन् भने कम्प्युटर सामान्य रूपमा चलाउन एक कार्यालय सहयोगीलाई गुहार मागिएको छ । एक कर्मचारीको भरमा वडा चलाउनु परेको छ ।

वडा नं. ११ मा सबैजसो कर्मचारी अस्थायी, करारका छन्, सबैलाई सम्झाइबुझाइय राखिएको छ । कसले कतिबेला छोड्नु पर्ने हो र सेवा प्रभावित हुन्छ भन्ने चिन्ता उस्तै छ । नगरपालिकाले वडाको सेवा प्रभावित हुन नदिन आलोपालो कर्मचारी खटाउने त गरेको छ तर, यो स्थायी समाधान होइन ।

नगरपालिका र माताहतमा खटिरहेका ४९० मध्ये ४३९ जना तोकिएको कर्मचारी दरबन्दी संख्या हो । नियुक्ती सम्झौता रद्द हुने भएपनि अधिकांश कर्मचारीलाई खटाइ नै राखिएको छ । आवश्यकताको हिसावले हाल भएको संख्याको दोब्बर कर्मचारी चाहिने वडा नं. १२ मा थप घटेपछि सबैभन्दा बढी प्रभावित बनेको छ । यस्तो अवस्थामा नगरपालिकाले पहुँच र पायक नहेरी वडा र शाखाहरूमा समानरूपमा कर्मचारी मिलान गर्न आवश्यक छ ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।