नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण, के भयाे पहिलाे निर्णय ?

कार्तिक ९, २०८२ |किरण पौडेल
नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण, के भयाे पहिलाे निर्णय ?

काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गर्नुभएको छ । शीतलनिवासमा सपथ लिएलगत्तै उहाँहरुले आ-आफ्नाे मन्त्रालयमा पुगी सपथ दिनुभएकाे हाे । 

तीन वर्ष स्वास्थ्य सचिव रहेर स्वास्थ्य मन्त्रालयबाट बाहिरिनुभएकी डाक्टर सुधा शर्मा १४ वर्षपछि सोही मन्त्रालयको नेतृत्वमा फर्कनुभएको हाे । २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरू गर्नुभएकी उहाँ २०६५ देखि २०६८ सम्म स्वास्थ्य सचिव रहनुभएको थियो । 

नेपाल चिकित्सक संघका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँ 'सिंहदरबारको घुम्ने मेच' र 'अप्रमेय’ पुस्तकका लेखक पनि हुनुहुन्छ । शर्मालाई मन्त्रिपरिषद्‌मा समावेश गरिएसँगै महिलाको प्रतिनिधित्वसमेत भएको छ । सपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै शर्माले जेन-जी आन्दोलनका घाइते तथा प्रभावितलाई नि:शुल्क मनोसामाजिक परामर्शका लागि व्यवस्था मिलाउने निर्णय गर्नु भएको छ । 

त्यस्तै उहाँले कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै कर्मचारीलाई चेतावनीसमेत दिनु भयो । मन्त्रालयअन्तर्गतका शाखा तथा विभागहरूबाट प्रवाह हुने सेवासमेत नागरिक मैत्री बनाउन मन्त्री शर्माले निर्देशन दिनुभयो । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सामाजिक कार्यमा सकृय हुनुहुन्छ । उहाँले कोभिडकालमा नि:शुल्क खाना अभियान सञ्चालन गर्नुभएको थियो । कोभिड महामा अघि गुप्ताले विपन्न र आर्थिक अवस्था कमजोर भएकाहरूका लागि कपडा बैंक अभियान पनि चलाउनु भएको थियो । 

‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाइरहनुभएका उहाँ बिरामीका लागि आवश्यक रगत खोजिदिने गर्नुहुन्थ्यो । जेन-जी आन्दोलनको जगमा बनेको सरकारका जेन-जी मन्त्रीका रूपमा गुप्ता मात्रै रहनुभएको छ । पदभार ग्रहण गर्दै उहाँले मन्त्रालय तथा मातहतका बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गर्नुभएको छ । 

विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको नवनियुक्त मन्त्री गुप्ताको भनाइ थियो । उहाँले मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढ्ने समेत बताउनु भयो । प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरेकोमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्रीमा प्रस्तावित गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगार मन्त्रीमा प्रस्तावित खगेन्द्र सुनारको सपथ अन्तिम समयमा रोकिएको थियो । 

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि २७ गते प्रधानमन्त्री नियुक्त हुनभएकी प्रधानमन्त्री कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । कार्कीले यसअघि भदौ ३० गते र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।