
काठमाडौं । जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंसका घटनामाथि छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यहरूविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरूद्ध अधिवक्ता विपिन ढकालले रिट पेस गर्नुभएको हो । आयोगका पदाधिकारीलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेस भएको तर दर्ता भने नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो ।
रिट निवेदकलाई सोमबार बोलाइएको पनि उहाँले बताउनुभयो । रिटमा आयोगका पदाधिकारी पूर्वाग्रही देखिएको र जाँचबुझको विषयवस्तुबारे तटस्थ नभएकाले समितिमा बस्न नमिल्ने दाबी गरिएको छ। जेन-जी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले सिंहदरबारमा सचिवालय स्थापना गरेर काम गरिरहेको छ ।