काठमाडौं । सरकारले बाढीपहिरोबाट घर गुमाएकाहरूलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन ५० हजार रूपैयाँ उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढीपहिरोबाट कसैको घर भत्किएको पाइए तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीनरुपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रूपैयाँ उपलब्ध गराइने छ । सो रकममध्ये २५ हजार तत्काल र २५ हजार घरको संरचना बनेपछि मापदण्डअनुसार उपलब्ध गराउने निर्णय भएको छ । विपद्पछि महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै यसका लागि तीनै तहका सरकारले समन्वयमा काम अघि बढाउने निर्णय बैठकले गरेको छ ।
महामारी फैलिन नदिने स्वास्थ्य शिविर सञ्चालन गर्ने, जनचेतना फैलाउने र मनोसामाजिक परामर्श उपलब्ध गराउनेलगायतका निर्णय पनि भएको छ । यसैगरी बाढीपहिरोका कारण देशभरका विभिन्न स्थानमा अवरूद्ध भएका सडक तीनै तहका सरकारको पहलमा तत्काल सञ्चालनमा ल्याइने भएको छ ।
खानेपानी, विद्युत्, सञ्चारलगायतका अत्यावश्यक सेवा सञ्चाल गर्न सम्बन्धित निकायले व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।