अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको मिर्गस्थली झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
नगरपालिकाले संघीय सरकारसँग समन्वय गरी विकास तथा संरक्षणमा सहकार्य गरेसँगै मिर्गस्थलीमा पर्यटक बढ्दै गएका हुन् । ५५ मिटर माथिबाट खसेको पानी हावामा धुँवाजस्तो भई छरपष्ट हुने दृश्यले यहाँ पुग्ने सबैको चित्त हरण गर्छ ।
अग्लो भीरबाट बाह्रै महिना झर्ने पानीको छाागोले मिर्गस्थली पुग्ने पर्यटकको मन लोभ्याउने गरेको छ । चाडपर्वको मौका पारेर मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् । झरनामा पुगेर फोटो खिँच्दै, टिकटक बनाउँछन् । कतिपय त यही झरना अवलोकन गर्ने मुख्य उद्देश्यले नै टाढा-टाढाबाट आउने गरेका छन् । उनीहरू झरनाको अनुपम र मनोरम सौन्दर्य देखेर लठ्ठै हुन्छन् ।
यही झरनाबाट मृग लडेर मरेकाले यसको नाम मिर्गस्थली झरना राखिएको हो । उत्सुकतासहित झरनामा पुगेका पर्यटकहरू चिसो पानीकोे शीतलता र मज्जा लिँदै थकान मेट्छन् । पछिल्लो समय दैनिक ११-१२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।
विगतमा ओझेलमा परेको झरनासम्म पुग्न नगरपालिकाले संघीयसरकारसित सहकार्य गरेर ५८ लाखको बजेटबाट पदमार्गसगैं अन्य पुर्वाधारका बनाएकाले पर्यटकलाई सहज भएको हो । गञ्छेभालुवाङ्ग सडकमै पर्ने भएकाले भीरबाट झरेको पानीको फोहोरा देखेर यात्रु गाडीबाट ओर्लेर झरनामा रमाउँदै अनुभव लिने गरेका छन् ।
सन्धिखर्कबाट झरनामा पुग्न करिब १५ किलोमिटरको दूरी रहेको छ । झरनाको थप प्रचारप्रसार भएसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके जिल्लाले रोजगारीसगैं आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने अपेक्षा छ ।