काठमाडौं । जेन-जी युवाहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरूले अख्तियारमा निवेदनसमेत दिएका छन् । जेन-जी युवाहरूले मंगलबार काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गर्दै प्रमुख आयुक्तसहित सबै आयुक्तको राजीनामा मागेर निवेदन दिएका हुन् ।
उनीहरूले प्रमुख आयुक्त राई नै विभिन्न आरोपमा मुछिएकाले अख्तियारले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन् । जेन-जी युवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।
जेन-जी मुभमेन्ट अलायन्सले सोमबार साँझ नै इमेलमार्फत् राजीनामा दिन माग गर्दै दबाबमूलक पत्रसमेत आयोगमा पठाएको थियो । अलायन्समा सहभागि रिजन राना मगरले अख्तियारका प्रमुख आयुक्तसहित सबै आयुक्तले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आफूहरूको अडान रहेको बताउनुभयो ।
युवाहरूको प्रदर्शनलाई लक्षित गर्दै अख्तियारमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । यसैगरी संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेजी र जेन-जी आन्दोलनमा दमनकारी भूमिका निर्वाह गर्ने नेताहरूलाई पक्राउ गर्न दबाब बढ्न थालेपछि काठमाडौंका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरूमा सुरक्षा तैनाथी बढाइएको छ ।