रौतहट । लगातारको वर्षाले आएको बाढीका कारण रौतहटको गौर नगरपालिका-६ सबगढ़ा लच्कामा पानी जमेपछि सदरमुकाम आवागमन अवरुद्ध रहेको छ । गौर बजारबाट करिब ५ किलोमिटर उत्तरसम्म मात्र सवारी साधन पुग्ने गरेका छन् ।
त्यस क्षेत्रमा मानिसहरु पैदल हिँड्न समेत कठिन भएको छ । सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकास नपाउँदा गौर बर्षेनी डुबानमा पर्ने गरेको छ । मौसम खुले पनि गौर बजार जलमग्न रहेको छ । गौर बजारमा पानी जमेर हिँडडुल गर्न समस्या भएको छ ।
जिल्लाको प्रमुख नदीहरु बागमती र लालबकैयामा पानीको सतह कम भए पनि गौरमा पानीको निकास नहुँदा अहिले पनि डुबानमा रहेको छ । जलमग्नका कारण सरकारी कार्यालय समेत खुल्न सकेको छैन । जस कारण सेवाग्रही मारमा परेको छ ।
नेपाल-भारत आवागमन कठिन भएको कारण सशस्त्र प्रहरीले रबर बोटको माध्यमले सुरक्षित ठाउँमा पठाउने कार्य गर्दै छ । त्यस्तै जिल्लाको बौधीमाइ नपाको इनरवारीबाट देवाही गोनाही तर्फ आउने बाटो अबरुद्ध बनेको छ ।